
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राष्ट्रिय स्वाधिनता सबैभन्दा अप्ठयारो अवस्थामा पुगेको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जेनजी आन्दोलनपछि मुलुकको स्वाधिनता निकै अप्ठयारो अवस्थामा पुगेको बताएका हुन् ।
उनले मुलुकलाई सो संकटबाट जोगाउनका लागि सबै देशभक्त कम्युनिष्टहरुबीच एकता गर्नेपर्ने आवश्यक रहेको बताए । सबै कम्युनिष्ट पार्टीहरुभित्र सिंगै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर अघि बढाउने आवाज उठेकाले नेतृत्वले त्यसलाई स्वीकार गरेर अघि बढ्नुपर्ने बेला आएको पनि उनले बताए ।
‘अहिले हामी जे देखिरहेका छौं, सबभन्दा बढि त राष्ट्रिय स्वाधिनता सबै भन्दा अप्ठयारो ठाउँमा पुगेको देखिएको छ । कम्युनिष्ट आन्दोलनलाई संकटमा धकेल्ने निकै ठूलो कसरतहरु भई पनि राखेका छन् । तर तर मलाई के लाग्छ भने नेपालको इतिहासमा २००६ सालदेखि अहिलेसम्म कम्युनिष्टहरुको नेतृत्वमा वर्ग संघर्षहरु भए, जन संघर्षहरु भए, जनआन्दोनलहरु भए, त्यसका जगमा नेपाली जनता कम्युनिष्ट आन्दोलनप्रति साँच्नै गहिरो गरी विश्वस्त नै छन्,’ उनले भने, ‘हामी नेतृत्वकर्तांहरुले जनताको त्यो भावनालाई जनताको एकताको त्यो चाहनालाई सम्मान गरेर आफ्ना कतिपय कुराहरु थाति राखेर राष्ट्र र जनताको हितमा केन्द्रित भएर जाने हो भने अहिलेको परिस्थिति त यो नकारात्मक नै हो । भदौ २३, २४ पछि नेपालमा जे जे परिघटना देखापरेका छन् । यो सबै नकारात्मक परिघटना भित्र एउटा सकारात्मक आधार छिपेको म देख्छु । त्यो भनेको अव सबै भित्र एकताको माग हुन थालेको छ । कम्युनिष्ट र देशभक्त शक्तिहरु मिल्नु प¥यो भन्ने आवाज देशभरबाट उठेका छन् ।’












