
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरिव नागरिकलाई सबैभन्दा बढि पीडा दिएको आरोप लगाएका छन् । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले श्रमजीवि वर्गमाथि सबैभन्दो ठूलो आहात दिने काम सरकारबाट भएको बताएका हुन् ।
उनले नेपालका कम्युनिष्ट पार्टीहरुले वर्गीय पक्षधरताको पक्षमा दृढतापूर्वक उभिएर काम गर्नुपर्ने बेला आएको बताए । संयोजक प्रचण्डले कम्युनिष्टहरुबीचको एकताले मात्रै वर्ग संघर्षलाई माथि उठाउन सकिने भएकाले सो काममा नेपालका कम्युनिष्ट पार्टीहरु एकतावद्ध भएर लाग्नुपर्ने आवश्यकता पनि औंल्याए ।
उनले भने, ‘अहिले सरकारको तर्फबाट सबभन्दा गरिवहरुमाथि, निमुखाहरुमाथि नै सबभन्दा बढी आहात, पीडा दिने कोशिस भएको छ । सबभन्दा गरिव, जसको हामी वर्गं आधार भन्ने गर्दछौँ । त्यही वर्गंमाथि प्रहार भएको छ । हामीले यो बीचमा वैचारिक ढंगले र आफनो वर्गं आधारलाई दह्रोसँग समात्नुपर्नेमा कमजोरी भएको छ । हाम्रो वर्गीय पक्षधरतामाथि आक्रमण गरेर नेपालमा कम्युनिष्टहरुलाई सिध्याउने देशीविदेशी प्रतिक्रियावादीहरु लागेका छन् । त्यसकारण हामीले वर्ग संघर्षलाई माथि उठाउन सबै कम्युनिष्टहरुबीच एकता गरेर अघि बढ्नुपर्नेछ ।’












