काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिको उम्मेदवार बन्न ५१ हजार दस्तुर तोको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीलाई ४१ हजार र केन्द्रीय सदस्यलाई २१ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकेको हो ।

त्यस्तै, बैठकले सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा विधान संशोधन समिति गठन गरेको छ । जसमा प्रकाशचन्द्र परियार लगायत सदस्य छन् । रास्वपाको महाधिवेशनमा देशभरबाट २५ सय प्रतिनिधि सहभागी हुने भएका छन् । चितवनमा असार ७, ८ र ९ गतेसम्म हुने पहिलो महाधिवेशनमा ७७ वटै जिल्लाबाट २५ सय प्रतिनिधि सहभागी हुने आज बसेको केन्द्रीय समितिको बैठकले तय गरेको छ ।
बैठकमा महाधिवेशनको तयारीबारे छलफल भएको बताइएको छ । ७७ वटै जिल्लामा समन्वयका लागि प्रतिनिधि समेत तोकिने भएको छ । यस्तै जेठ २६ गते बागमतीको प्रदेश अधिवेशन, जेठ २७ गते कोशी, २८ गते मधेस, २९ गते गण्डकी प्रदेश ३० गते लुम्बिनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन हुने भएको छ । रास्वपाको जिल्ला अधिवेशन यसअघि नै भइसकेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ सालको असार ७ गते घोषणा भएको थियो । निर्वाचन आयोगमा भने असार १७ गते दर्ता भएको थियो । स्थापनाकालदेखि रवि लामिछाने रास्वपाको सभापतिमा रहेका छन् ।














