
सरकारले विद्यार्थी संघ खारेज गरेपछि विश्वविद्यालयमा विद्यार्थी राजनीति चाहिन्छ कि चाहिँदैन भन्ने बहस सुरु भएको बेला ‘हेर्ने कथा’मा ‘छार्का स्कुल र सोनाम’ कथा सार्वजनिक भयो । उक्त कथा धेरैले मन पराए । त्यो कथाभित्र धेरैले मन पराएको सोनाम भुटीको एउटा अभिव्यक्ति हो– ‘कुनै कुनै बेला त शिक्षालाई नै शिक्षा चाहिने हुँदो रहेछ ।’
विडम्बना ! काठमाडौंका प्रतिष्ठित प्राज्ञिक थलोहरूमा यो जीवनोपयोगी सत्यले कहिल्यै प्रवेशाधिकार पाउन सकेन । यी विश्वविद्यालयहरू ज्ञानको आलोक छर्ने केन्द्र बन्नुको साटो केवल राजनीतिक दाउपेचको क्रीडास्थलमा रूपान्तरित भए । यहाँ शिक्षाको गुणस्तर सुधार गर्ने चिन्तनभन्दा शिक्षाको जगमा उभिएर स्वार्थको राजनीति गर्ने प्रवृत्तिले प्रश्रय पायो ।
यस प्रवृत्तिको परिणाम अत्यन्त भयावह र त्रासदीपूर्ण रह्यो । विद्यार्थी संगठनहरू, जो उत्पीडित विद्यार्थीका मुखरित आवाज र अधिकारका रक्षक हुनुपर्ने थियो, तर राजनीतिक दलका इकाइ र शाखा कार्यालयमा सिमित भए । विश्वविद्यालयका प्राङ्गणहरू ज्ञानको अनुसन्धान र नवप्रवर्तन गर्ने पवित्र थलो बन्नुको साटो केवल दलगत कार्यकर्ता उत्पादन गर्ने कारखानामा परिणत भयो ।
जब विद्यार्थी आन्दोलनले विद्यार्थीका साझा पिरमर्का र प्राज्ञिक उन्नयनलाई तिलाञ्जली दिएर केवल नेताको आदेश तामेली गर्ने संयन्त्रको रूप लियो, तब यो भित्रभित्रै बौद्धिक रूपमा खोक्रो र दिशाहीन बन्न पुग्यो । आज हामी जसलाई विद्यार्थी राजनीति भनिरहेका छौँ, त्यो राजनीतिक दलका लागि कार्यकर्ता उत्पादन गर्ने कारखानामा सीमित भएको छ । यो विद्यार्थीद्वारा विद्यार्थीकै हितका लागि गरिएको आन्दोलन नभएर दलहरूको स्वार्थ रक्षाका लागि खडा गरिएको एउटा ‘स्वार्थको किल्ला’ सावित भएको छ ।
विश्वविद्यालयहरू ज्ञानको उत्खनन र बौद्धिक तपोभूमि हुनुपर्नेमा जब त्यहाँ शक्ति–समीकरणको गणितीय जोड–घटाउ र दलीय वर्चस्वको निकृष्ट खेल सुरु हुन्छ, तब शिक्षाको मूल मर्म र प्राज्ञिक मर्यादाको अवसान निश्चित छ । जहाँ विवेकभन्दा बढी ‘विभाजन’ र अध्ययनभन्दा बढी राजनीतिक आदर्शको हुन्छ, त्यहाँ विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त राख्नुको विकल्प रहँदैन ।
परम्परागत राजनीतिक शक्तिहरूका लागि विश्वविद्यालय कहिल्यै प्राज्ञिक थलो बन्न सकेनन्, बरु ती केवल कार्यकर्ता भर्ती केन्द्र र स्वार्थ व्यवस्थापनका सुरक्षित आश्रयस्थलमा परिणत भए । दलीय सञ्जाल विस्तार र सत्ताको सिँढी चढ्ने रणनीतिक अखडा भएकाले नै उनीहरूका लागि राजनीतिमुक्त विश्वविद्यालयको परिकल्पना आफैँमा एउटा ठूलो राजनीतिक जोखिम र अपाच्य विषय बन्यो ।
त्यसैले बालेन शाह नेतृत्वको सरकारले विद्यार्थी संघहरू खारेज गर्ने जुन निर्णय लिएको छ, त्यसले राष्ट्रिय बहसलाई दुई ध्रुवमा विभाजित गरिदिएको छ । समर्थकहरू यसलाई शैक्षिक सुधारको साहसिक कदम मान्दछन् भने आलोचकहरू यसलाई ’लोकतान्त्रिक मूल्यको संकुचन’ भनी व्याख्या गर्छन् ।
बालेन नेतृत्वको सरकारले देखाएको यो साहस केवल एउटा प्रशासनिक निर्णय मात्र होइन, यो त दशकौँदेखि जकडिएको शैक्षिक विकृतिविरुद्धको एउटा ऐतिहासिक विद्रोह र शैक्षिक शुद्धीकरणको प्रस्थान विन्दु हो । यसले एउटा स्पष्ट सन्देश दिएको छ– अब विश्वविद्यालयहरू राजनीतिको प्रयोगशाला होइन, विशुद्ध ज्ञान, अनुसन्धान र प्रज्ञाको केन्द्र बन्नुपर्छ ।
नेपाली शिक्षा प्रणालीको मूल व्याधि त्यसको जगमै निहित छ । हामीले शिक्षालाई ज्ञानको आविष्कारबाट विमुख गराई केवल स्मरणशक्तिको प्रतिस्पर्धामा संकुचित तुल्यायौँ । परीक्षाको नतिजा नै जीवनको अन्तिम फैसला बन्ने यो प्रणालीले विद्यार्थीलाई वर्षभरि पुस्तक घोक्ने र तीन घण्टाको मानसिक दबाबमा आफ्नो भविष्यको ‘जुवा’ खेल्ने एउटा निरीह पात्रमा सीमित गरिदिएको छ । आज हाम्रा विद्यालय र विश्वविद्यालयहरू प्रज्ञा निर्माण गर्ने थलो होइनन्, अंक उत्पादन गर्ने ‘यान्त्रिक कारखाना’ मात्र बनेका छन् ।
यसको भयावह परिणाम हाम्रा सामु छ । हामीले यस्तो पुस्ता निर्माण गरिरहेका छौँ, जोसँग सूचना त छ तर विवेक छैन । जोसँग प्रमाणपत्र त छ तर क्षमता छैन । यो केवल कागजमा सीमित शिक्षा हो, जुन बजारमा ‘बिक्न’ त सक्छ तर जीवनको भोगाइमा कतै ‘टिक्न’ सक्दैन ।
शिक्षा आज चेतनाको विस्तार होइन, बरु तनावको पर्याय बनेको छ । अंकको बोझ, अभिभावकको उच्चाकांक्षा र समाजको निर्मम तुलनाले विद्यार्थीको कोमल मस्तिष्कलाई थिचिरहेको छ । यो प्रणालीले सिर्जनशील प्रतिभाहरूलाई भित्रभित्रै क्षत–विक्षत पारिरहेको छ ।
त्यसलै हाम्रो शिक्षा सुधार्न अपरिहार्य बनिसकेको छ । सोनामको भाषामा भन्ने हो भने हाम्रो शिक्षालाई शिक्षा चाहिएको छ । अबको बहस केवल ‘विद्यार्थी राजनीति’को वरिपरि मात्र घुमेर पुग्दैन । मूल प्रश्न हो– हामीले शिक्षालाई साँच्चिकै जीवनमुखी बनाएका छौँ कि यसलाई अझै पनि राजनीति र अंकको चक्रव्यूहमा बन्धक बनाइरहेका छौँ ?
आजको शिक्षाले ‘दक्ष मेसिन’ त उत्पादन गर्यो, तर ’संवेदनशील मानव’ निर्माण गर्न भने चुकेको छ । प्राविधिक रूपमा शिक्षित वर्गबाटै मौलाएको भ्रष्टाचार र सामाजिक विद्वेष यसैको पराकाष्ठा हो । त्यसैले, शिक्षालाई तथ्याङ्क र सूत्रहरूको कण्ठस्थीकरणबाट मुक्त गरी ’विवेक र नैतिकता’ सँग जोड्नु आजको अनिवार्य आवश्यकता हो ।
कृत्रिम बौद्धिकता र तीव्र गतिमा बदलिँदो प्रविधिको युगमा हिजोको जड ज्ञानले भोलिको चुनौती सामना गर्न सक्दैन । शिक्षा अब ‘के सोच्ने’मा होइन, ‘कसरी सोच्ने’ र ‘कसरी सिक्ने’ भन्ने चिन्तनमा केन्द्रित हुनुपर्छ । शिक्षा आफैँमा एउटा गतिशील प्रक्रिया हो, जमेर बसेको पोखरीको पानीजस्तो ज्ञानले नयाँ पुस्ताको जिज्ञासा मेट्न सक्दैन । त्यसैले अबको हाम्रो राष्ट्रिय बहस विश्वविद्यालयमा कसको झण्डा गाड्ने भन्नेमा होइन, कसरी शिक्षालाई परीक्षाको अंकभन्दा माथि उठाएर जीवनको उपयोगी कला बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ ।
‘हेर्ने कथा’ मार्फत सोनामले व्यक्त गरेको त्यो गम्भीर अभिव्यक्ति फगत एउटा वाक्य मात्र होइन, यो त हाम्रो सर्टिफिकेटमुखी शिक्षामाथिको एउटा ‘बौद्धिक वज्रप्रहार’ पनि हो । राजनीतिबाट मुक्त ज्ञानको मन्दिर र अंकको पछाडि दौडिने मेसिनभन्दा पनि विवेकशील मानव निर्माण गर्नु नै आजको युगधर्म हो । शिक्षाको राजनीतिकरण र सर्टिफिकेटको व्यापारिकरण नै हाम्रा विश्वविद्यालयका क्यान्सर हुन् । यी दुवैबाट मुक्त नभईकन ‘सोनाम’हरूले खोजेको वास्तविक शिक्षा प्राप्त गर्न सम्भव छैन ।














