
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको ‘आकस्मिक समय’लाई आगामी दिनमा थप व्यवस्थित बनाइने जानकारी दिएका छन् ।
आज जारी प्रतिनिधिसभा बैठकमा केही सदस्यले समसामयिक विषयमा आफ्नो भनाइ राखेपछि आकस्मिक समय सकिए पश्चात शून्य समय आरम्भ गराउन खोज्दा थप सदस्यले आफ्नो भनाइ राख्न आसनबाट उठेपछि सभामुख अर्यालले बस्न आग्रह गरे । सो क्रममा सभामुख अर्यालले ‘आकस्मिक समय’ बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा थप व्यवस्थित बनाइने जानकारी दिएका हुन् ।
सांसदहरू राजेन्द्रकुमार राई, बलावती शर्मालगायत सोही समयमा बोल्न उठिरहेपछि सभामुखले आकस्मिक समयमा अघिल्लो बैठक सकिएदेखि यस बैठकसम्मको अवधिमा मुलुकका उत्पन्न भएका जनजीवनमा अति महत्वपूर्ण घटना–विषयलाई बोल्न समय माग्न र दिन सकिने संसदीय अभ्यास रहेको बताए ।
सांसदले बोल्न टिपाएका कुनै विषय उक्त समयमा बोल्न संवेदनशील नलागेमा सभामुखले समय नदिन पनि सक्ने छन्। आसनबाट उठेका सदस्यहरू नबसेपछि सभामुख अर्यालले तोकिएभन्दा थप सदस्यलाई आकस्मिक समयमा बोल्न समय दिए ।
संसद्मा आकस्मिक समयमा साथै शून्य समय र विशेष समयमा समसामयिक विषयमा ध्यानाकर्षण गराउने पनि संसदीय अभ्यास छ ।














