Logo
Logo

भिजिट भिसामा भइरहेको विकृति अन्त्य गर्न सफल भएको अध्यागमनको दाबी


0
Shares

काठमाडौं । अध्यागमन विभागले भिजिट भिसासम्बन्धी सबै प्रकारका विकृति र विसंगति नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेको छ ।

बिहीवार ‘डिजिटल टाइम कार्ड’ शुभारम्भ कार्यक्रममा बोल्दै विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसाको नाममा देखिएका अनियमितता, मानव तस्करीसँग जोडिएका गतिविधि तथा अध्यागमन प्रक्रियामा हुने विभेद अन्त्य गर्न विभाग सक्रिय रूपमा लागेको उल्लेख गरे । उनले अध्यागमनसँग सम्बन्धीत समस्याहरु अध्यागमको कार्यशैली र कानून कार्यान्वयनको कमजोरीको कारण उत्पन्न हुने गरेको भन्दै त्यसतर्फ अध्यागमन सचेत भएर लागेको समेत बताए ।

उनले विभागले विदेशी नागरिकको गतिविधिमाथि समेत प्रभावकारी निगरानी गर्न थालेको बताए । महानिर्देशक तिवारीले विगतमा नेपाली नागरिक विदेश जान खोज्दा उनीहरूको उद्देश्य र गतिविधिमाथि कडाइका साथ निगरानी गरिए पनि नेपाल आएका विदेशी नागरिकको गतिविधिप्रति पर्याप्त चासो नदिइएको भन्दै त्यसमा सुधार भइरहेको बताए ।

उनले आवश्यक सबै कागजात हुँदाहुँदै पनि भिजिट भिसामा विदेश जानबाट रोकिएका नेपाली नागरिकलाई विभागमा उजुरी गर्न आग्रह गरे । कसैले अनुचित रूपमा फर्काएको प्रमाणित भए सम्बन्धित व्यक्तिलाई कारबाही गरी पीडककै पैसाबाट गन्तव्य मुलुकमा पठाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

उनले भने, ‘हामीले विभागलाई पछिल्लो आठ–दश महिनादेखि रिफर्मको मिसनकै रुपमा लिइरहेका छौँ । पछिल्लो समय भिजिट भिसादेखि अन्य विकृतिहरुको हल गर्नको लागि पनि महत्वपूर्ण भूमिका खेलेर निर्मूल पार्न सफल भएका छौँ । नेपाली नागरिक विदेशमा गएर के गर्छन् भन्ने कुरा प्राथमकिता राख्ने तर विदेशी नागरिक नेपालमा आएर के गर्छन् भन्ने कुरालाई वास्ता नगर्ने कुराको अन्त्य गर्नको लागि हामीले सिस्टम बनाएर कार्यान्वयन गरिरहेका छौँ । यदि सबै कागजात पुगेको नेपाली नागरिक भिजिट भिसामा जान खोजिरहेको छ भने उजरी गर्नको लागि आज पनि आह्वान गर्दछु । जसले फर्काएको हो उसैको पैसामा टिकट काटेर फर्काउँछौँ भनेका छौँ ।’

अध्यागमन सेवामा पारदर्शिता, कर्मचारी अनुशासन, डिजिटल निगरानी तथा नागरिकमैत्री सेवा प्रवाह विभागको प्राथमिकतामा रहेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस्