
काठमाडौं । विपक्षी दलको नाराबाजीबीच प्रतिनिधिसभा निर्वाचन पहिलो संशोधन विधेयक २०८३ विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
विपक्षी दलका सांसदहरूले वेल घेरेर नाराबाजी गरिरहेको बेलामा सभामुख डिपी अर्यालले बहुमतको आधारमा उक्त विधेयक स्वीकृत भएको घोषणा गरे ।
विधेयकमाथि कुनै सांसद छलफलमा सहभागी भएनन् । यो विधेयक प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री सोविता गौतमले पेस गरेकी थिइन् । तर विपक्षीले प्रधानमन्त्री स्वयम आउनुपर्ने अडान राखेका छन् ।
बैठकले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले स्वीकृत भएको घोषणा गरेको छ । यो प्रस्तावमाथि पनि छलफल गर्न कुनै सांसदले नाम टिपाएनन् ।














