काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै छ । न्यायाधीश विनोद शर्मा र नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ ।

यसअघि बुधवार उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले प्रसाईँलाई पक्राउ गरेर थुनामा राख्नुको कारण मागेको थियो ।
प्रसाईँलाई मङ्गलवार पर्साको वीरगन्जबाट पक्राउ गरिएको थियो । पर्सा प्रहरीले वीरगन्जको दियालो होटलबाट नियन्त्रणमा लिई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता गरेको थियो ।
प्रसाईँको हकमा अधिवक्ता आशिष लुइटेलले जिल्ला प्रहरी कार्यालय पर्सालाई विपक्षी बनाइ सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।














