Logo
Logo

पाँचथरमा बाढी-पहिरोको वितण्डा: घर र पुल बगे, मध्यपहाडी लोकमार्ग अवरुद्ध


0
Shares

पाँचथर । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले पाँचथरको याङ्वरकमा व्यापक क्षति पुर्‍याएको छ। पहिरोका कारण याङ्वरक-१ मा दुई वटा घर र एक भान्साघर बगेका छन्। स्थानीय मनबहादुर खवास (महमलाल) को बस्ने घर र गोठ तथा सोही ठाउँका कविराज राईको घर पहिरोले बगाएको हो। यसै गरी, बलबहादुर खालिङको भान्साघर समेत पहिरोले बगाएको स्थानीयले जनाएका छन्।

बाढी र पहिरोका कारण मध्यपहाडी लोकमार्गको थर्पु-चिवाभञ्ज्याङ खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ भने दोभाने भन्ने स्थानमा बनाइएको डाइभर्सन र एउटा निर्माणाधीन पुल समेत बाढीले बगाएको छ। यता पाँचथर र ताप्लेजुङ जोड्ने इन्द्रावती खोलाको पुलमा क्षति पुग्दा दुई जिल्लाबीचको यातायात सेवा समेत ठप्प भएको छ।

बाढीले यस क्षेत्रका महत्त्वपूर्ण झोलुङ्गे पुलहरूमा पनि ठुलो क्षति पुर्‍याएको छ। याङ्वरक-१ स्थित च्याङथापु र चाम्लिङडाँडा जोड्ने पुल, च्याङथापु-एकराते जोड्ने पुल तथा याङ्वरक-२ दोभानेस्थित नाम्रेक-फलैँचा जोड्ने झोलुङ्गे पुल बाढीका कारण क्षतिग्रस्त भएका छन्। यसै गरी, ओयाम बजार छेउमा ठुलो पहिरो गएकाले बजार क्षेत्र समेत जोखिममा परेको छ।

अहिले प्रभावित क्षेत्रमा मोबाइलको नेटवर्क नभएको र विद्युत् सेवा समेत अवरुद्ध भएका कारण घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्