काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि अध्यक्ष केपी शर्मा ओलीलाई अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने सुझाव दिएका छन् ।

शनिबार अध्यक्ष ओलीकै निवासमा बसेको पार्टी सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा महासचिव पोखरेलले परिस्थिति सहज नभएको भन्दै यही परिस्थितिमा अघि बढ्न नसक्ने बताएका हुन् ।
बैठकमा सहभागी एक नेताका अनुसार, पोखरेलले ओलीलाई ‘राजीनामा नै गर्नु’ भन्ने शब्द चाहिँ प्रयोग गरेनन् । यद्यपि अहिलेकै अवस्थामा अघि बढ्न नसकिने, समीक्षा र सुधारसहित पार्टीलाई अघि बढाउनुपर्ने महासचिव पोखरलेको भनाइ थियो ।
उपमहासचिव लेखराज भट्टका अनुसार, आजको बैठकमा तीन उपमहासचिव र पाँच जना सचिवहरूले पनि धारणा राखेका थिए ।
अब ४ जनाले बोल्न बाँकी छ । भोलि (आइतबार) बिहान साढे ११ बजेबाट सुरु हुने बैठकमा बाँकी रहेका ४ जना सचिवले धारणा राख्ने उनले बताए ।
यसअघि हिजो (शुक्रबार) बसेको बैठकमा ४ जना उपाध्यक्षले पार्टी नेतृत्वको विकल्प खोज्नुपर्ने प्रष्ट धारणा राखेका थिए ।














