Logo
Logo

पोखराको फिर्केखोला क्षेत्रका संरचनामा चल्यो डोजर


0
Shares

काठमाडौं । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका संरचना हटाउन डोजर चलाएको छ । करिडोर बनाउन महानगरले वर्षौंदेखि विवाद र राजनीतिक मुद्दा बनेको फिर्केको संरचनामा डोजर लगाएको हो ।

पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षको नेतृत्वमा बिहान १० बजेदेखि फिर्के खोलाका ३ ठाउँबाट एकसाथ डोजर चलाइएको हो ।

पहिलो चरणमा जिरो किमी र सिर्जना चोकको बीचमा फिर्केमाथि बनेका संरचना हटाइएको छ । त्यहाँबाट सुरु भएको डोजरले लायन्सको भवनबाट भत्काउँदै वडानम्बर ६ तर्फ आउने छ ।

अर्को डोजरले वडा नम्बर २ र १८ को सिमाना अँधेरी कुनादेखि संरचना भत्काउन सुरु गरी वडा वडा नम्बर ४ तर्फ आउने छ । अर्को डोजरले वडा नम्बर ४ र ५ को सिमाना फिर्केपुल बूढानीलकण्ठ मन्दिरदेखि भत्काउन सुरु गरी वडा नम्बर ५ र ८ तर्फ आउने छ ।

२०८० साल असारमा गरिएको फिर्के खोला नापजाँच प्रतिवेदनअनुसार खोलाघरमा निर्माण भएका सबै प्रकृतिका संरचनाहरु हटाउन लागिएको हो । प्रतिवेदनअनुसार खोला घरभित्र १६० वटा संरचना पर्छन् । खोलाघरमा संरचना निर्माण गर्नेमा प्रदेश प्रहरीकै कार्यालयलगायत सरकारी कार्यालय, समाजघरदेखि व्यक्तिका घरसम्म पर्छन् ।

पोखरा महानगरले जेठ ३ गते पछिल्लो पटक सम्पूर्ण स्थायी तथा अस्थायी संरचनाहरू जेठ ९ गतेभित्र आफैं हटाउन सार्वजनिक सूचना जारी गरेको थियो । त्यो समयावधि सकिएलगत्तै आज डोजर चलाएर हटाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्