Logo
Logo

आज कहाँ-कहाँ छ सडक पूर्ण अवरुद्ध ?


0
Shares

काठमाडौं । वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । मध्यपहाडी लोकमार्गलगायत सडकखण्ड अवरुद्ध रहेको छ । जसमा मध्यपहाडी लोकमार्गमा मात्र तीन ठाउँमा सडक अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

त्यस्तै पाँचथरको याङवारक गाउँपालिका–३, ओयाम बजारमा सडक पूर्ण रूपमा अवरुद्ध छ । यही जेठ ८ गते राति करिब साढे ११ बजे उक्त स्थानस्थित च्याङथापुदेखि थर्पु जोड्ने मध्यपहाडी लोकमार्गमा पहिरो खस्दा बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सोही राति करिब १२ बजे याङवारक–३, रिजालभीरस्थित च्याङथापुदेखि थर्पु जोड्ने मध्यपहाडी लोकमार्गमा पनि पहिरो खस्दा बाटो अवरुद्ध छ । सडकमाथिबाट ढुंगासहितको पहिरो झरी बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

याङवरक–२, दोभानमा पनि सडक अवरुद्ध छ । जेठ ८ गते राति करिब १२ बजे नै मध्यपहाडी लोकमार्गअन्तर्गत उक्त स्थानस्थित मेवाखोलामा निर्माणाधीन पक्की पुल बाढीले बगाउँदा सडक पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

‘सोही निर्माणाधीन पुलको छेउमा रहेको फलामे झोलुंगे पुलमा समेत क्षति पु¥याएको हुँदा तत्काल पैदलयात्री समेत आवतजावत गर्न नसक्ने, वैकल्पिक बाटो नरहेको,’ प्रहरीले भनेको छ ।

उता, हुम्लामा हिल्सा–सिमकोट सडकखण्डमा आवगमन बन्द गरिएको छ । नाम्खा गाउँपालिका–२, च्यादुकस्थित भित्री सडकखण्डमा बाटो खन्ने कार्य भइरहेकाले माथिबाट ढुंगामाटो खस्ने जोखिमका कारण वैशाख २९ गतेदेखि त्यहाँ आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ ।

यता, काभ्रे–सिन्धुलीस्थित बीपी राजमार्ग सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा लगाइएको रोक यथावत् छ । सम्भावित बाढीलाई मध्यनजर गर्दै त्यहाँ बेलुका ५ देखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

प्रतिक्रिया दिनुहोस्