Logo
Logo

जसपाको केन्द्रीय समिति बैठक जारी, यी विषयमा भइरहेको छ छलफल


630
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । तीन दिनसम्म चल्ने बैठकमा हिजो (शनिबार)चुनावी समीक्षा भएको थियो ।

जसपा नेपालले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा हार्नुको कारणबारे समीक्षा गरिरहेको छ । आज पनि त्यसमा छलफल हुने बताइएको छ । निर्वाचनमा जसपा नेपालको तर्फबाट उम्मेदवार बनेकाहरूको प्रदेशस्तरीय भेला गर्ने र त्यहाँ पनि समीक्षा गर्ने बताइएको छ ।

बैठकमा मधेस प्रदेश सरकारको बारेमा पनि समीक्षा हुने बताइएको छ । जसपा नेपालले वर्तमान सरकारलाई समर्थन दिने निर्णय गरेको थियो तर मुख्यमन्त्री कृष्ण यादवले सरकारबाट सो पार्टीलाई जवर्जस्ती हटाएका छन् । त्यस्तो कसरी भयो ? त्यसको बारेमा पनि बैठकमा समीक्षा हुने बताइएको छ ।

त्यसका साथै बैठकमा पार्टी समायोजनदेखि त्यसको व्यवस्थापनलगायत आगामी राजनीतिक कार्यक्रमबारे छलफल हुने जसपा नेपालका केन्द्रीय सदस्य डा.सुरेन्द्र झाले बताए ।

यो बैठकमा पार्टी सङ्गठनहरूको समायोजनलाई मुख्य प्राथमिकतामा राखेको उनले बताए । केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला समिति, पालिका समिति, वडा तथा टोल समितिदेखि भ्रातृ तथा शुभेच्छुक सङ्गठनहरूको समायोजनसम्बन्धी कार्यविधि निर्माण यो बैठकले गर्नेछ ।

बैठकमा केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन, स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरूसँग समन्वय तथा सदस्यता नवीकरण र अद्यावधिकका विषय पनि कार्यसूचीमा समावेश गरिएको छ ।

त्यसैगरी जिल्ला, पालिका तथा संघीय निर्वाचन क्षेत्रस्तरीय पार्टी अभिमुखीकरण, भेला तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्