Logo
Logo

नेपाल एयरलाइन्सको सञ्चालक सदस्य नियुक्ति विवादमा, पर्यटनमन्त्रीको निर्णयविरुद्ध उजुरी


252
Shares

काठमाडौं । सरकारले नेपाल एयरलाइन्सको सञ्चालक सदस्य पदमा गरेको नियुक्ति विवादमा तानिएको छ । पर्यटनमन्त्री खडक राज पौडेल (गनेस)ले वैशाख ३१ गते मन्त्रीस्तरीय निर्णय गर्दै ५ जनालाई नेपाल एयरलाइन्सको सञ्चालक सदस्यमा नियुक्त गरेका थिए ।

जसमा कास्कीका डा दीपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौंका रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाल सञ्चालक समितिमा नियुक्त भएका थिए ।

प्रतिस्पर्धामा २७ जना रहेकामा मन्त्री पौडेलले चलखेल गरेर ५ जना छानेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको छ ।

५ जनाको नियुक्तिसम्बन्धी निर्णयबारे जानकारी दिन मन्त्रालयका सहसचिव जयराज अचार्यले जारी गरेको सूचनामा शैक्षिक योग्यता र अनुभव, व्यावसायिक कार्ययोजना परीक्षण, प्रस्तुतीकरण र अन्तर्वार्तापछि छनौट गरिएको भनिएपनि खुला प्रतिस्पर्धामा प्राप्त अंकलाई बेवास्ता गर्दै मनपरीरुपमा निर्णय गरेर सुशासनलाई नै धक्जी उडाउने काम मन्त्रीबाट भएको उजुरीमा उल्लेख छ ।

२०८३ वैशाख १२ गते गोरखापत्रमा नेपाल वायुसेवा निगमको सञ्चालक सदस्य पदका लागि दरखास्त आह्वान भएको थियो ।

जेनजी आन्दोलनप्रश्चात सुशासन कायम गर्ने उद्देश्यसहित वर्तमान सरकार बनेपनि मन्त्रालयले चलखेलका आधारमा सञ्चालक सदस्य नियुक्ति गर्नु सरकारको सुशासनप्रतिको प्रतिबद्धतामाथि नै प्रश्न उत्पन्न भएको प्रधानमन्त्री कार्यालयमा दर्ता भएको उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्