काठमाडौँ । सर्लाहीको बागमती नदीमा बेपत्ता भएका पाँच युवकमध्ये दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्।

रौतहट र सिन्धुलीको सिमानामा पर्ने झपडी झोलुङ्गे पुलमुनिबाट शनिबार दिउँसो करिब ४ बजे उनीहरू बेपत्ता भएका थिए। बेपत्तामध्ये दुई जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय कर्मैया, सर्लाहीले जनाएको छ।
प्रहरीका अनुसार मृत भेटिनेमा लालबन्दी नगरपालिका–९ बस्तीपुरका १८ वर्षीय रोहित महतो र सोही ठाउँका २० वर्षीय गणेश महतो छन्। रोहितको शव सर्लाहीको बागमती नगरपालिका–११ स्थित पुल नजिकै र गणेशको शव आइतबार दिउँसो साढे १ बजेतिर बागमती नदीको ड्याम साइडमा फेला परेको हो।
यस्तै, सर्लाहीको बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय सहमद मोमिन, सोही ठाउँका २४ वर्षीय मोहम्मद अखतर र सर्लाहीकै ब्रह्मपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी भने सकुशल भेटिएका छन्।
उनीहरू कसैलाई जानकारी नदिई रौतहट र सिन्धुलीको सिमानामा पर्ने बागमतीको झपडी झोलुङ्गे पुल पुगेका र त्यहाँबाट नदी तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।














