Logo
Logo

टाइमलाइन विद्यालयद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित, ५ जनालाई ल्यापटप प्रदान


0
Shares

काठमाडौं । टाइमलाइन विद्यालयले एसईई २०८२ मा उत्कृष्ट जीपीए ल्याएर उत्तीर्ण भएका आफ्ना विद्यार्थीहरूलाई सम्मान गरेको छ । गोकर्णेश्वर नगरपालिका वडा नं. ५ मा अवस्थित यस विद्यालयले एक विशेष ‘शुभकामना तथा बधाई कार्यक्रम’ आयोजना गरी उत्कृष्ट ४ जीपीए हासिल गर्ने पाँच जना विद्यार्थीलाई ल्यापटपसहित सम्मान गरेको हो ।

कार्यक्रमकी प्रमुख अतिथि सान्नानी लामाले विद्यालय र सफल विद्यार्थीहरूलाई बधाई दिँदै गोकर्णेश्वर नगरपालिकाभित्रै गुणस्तरीय विद्यालय र सक्षम शिक्षकहरूको उपस्थिति रहेको बताइन् । उनले महँगा विद्यालयको खोजीमा बाहिर भौतारिनुभन्दा आफ्नै नगरभित्र रहेका उत्कृष्ट शैक्षिक संस्थाहरूमा कक्षा १२ सम्मको अध्ययन अघि बढाउन विद्यार्थीहरूलाई सुझाव दिइन् ।

त्यस्तै, कार्यक्रमकी विशेष अतिथि सरिता शर्माले केही कलेजहरूले भर्नाका समयमा विभिन्न छात्रवृत्तिको प्रलोभन देखाएर पछि अतिरिक्त शुल्क असुल्ने गरेको गुनासो आउने गरेको बताइन् । गोकर्णेश्वरभित्रका विद्यालयहरूमा त्यस्तो समस्या नरहेको दाबी गर्दै उनले विद्यार्थीहरूलाई अनावश्यक रूपमा कलेज खोज्दै भौतारिनुभन्दा आफ्नै क्षेत्रमा सुरक्षित र गुणस्तरीय शिक्षा हासिल गर्न आग्रह गरिन् ।

विद्यालयका प्रधानाध्यापक रामप्रसाद बडालले एसईईमा उत्तीर्ण भएका एक सय नौ जना विद्यार्थीलाई बधाई दिँदै प्रविधिको आधुनिक युगमा उत्कृष्ट विद्यार्थीहरूलाई डिजिटल माध्यमसँग जोड्न ल्यापटप उपहार प्रदान गरिएको प्रष्ट पारे । आगामी दिनमा विद्यार्थीहरूमा अध्ययनप्रति थप रुचि, ऊर्जा र प्रतिस्पर्धात्मक भावनाको विकास होस् भन्ने उद्देश्यले यस्तो प्रोत्साहन कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।

अभिभावकहरूलाई घरमै अध्ययनमैत्री वातावरण निर्माण गर्न आग्रह गर्दै प्रधानाध्यापक बडालले आगामी वर्ष अझ बढी विद्यार्थीलाई यसरी नै सम्मान गर्न पाउने अपेक्षा व्यक्त गरे। विद्यालयले शैक्षिक सत्र २०७३ देखि निरन्तर कक्षा १० र १२ मा शतप्रतिशत नतिजा हासिल गर्दै आएको उनले स्मरण गराए ।

कक्षा ११ र १२ मा कम्प्युटर साइन्स विषयसहित उत्कृष्ट नतिजा ल्याएर आफूलाई अब्बल साबित गरेको टाइमलाइन विद्यालयले हाल स्मार्ट बोर्डमार्फत आधुनिक पठनपाठन सञ्चालन गर्दै आएको छ । प्रविधिमैत्री शिक्षामा अग्रणी बन्दै गएको यस विद्यालय शैक्षिक गतिविधिका साथै अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै उत्कृष्ट मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्