जनकपुरधाम । नेकपा एमालेका नेता उमाशंकर अरगरियाले पार्टी परित्याग गरेका छन्। आज (आइतबार) उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका हुन्।

एमालेमा प्रवेश गरेको धेरै समय भए पनि आफूसँगै आएकाहरूको समायोजन हुन नसकेको र कमिटीविहीन भएको उनले आरोप लगाएका छन्। ‘सगंठन सुदृढीकरण हुनुपर्नेमा पार्टीभित्र पटक(पटक पार्टीको अधिकारिक उम्मेदवारलाई हराउनेहरू यो पार्टीमा दण्डित गर्नुको सट्टा उल्टै पुरस्कृत गर्ने परम्परा देखेको छु,’ उनले लेखेका छन्, ‘ पटकपटक जिल्लाको नेतृत्वबाट अपमानित हुने, लगनशील तथा इमान्दार कार्यकर्ताहरू अपहेलित हुने र पार्टीविरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले आजित भएको छु।’
यस्ता विषयहरू केन्द्रमा जानकारी गराउँदा पनि कुनै किसिमको पहल नभएको उनको भनाइ छ। अरगरिया गत निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नं. २ मा एमालेका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार थिए।
२०६४ सालको मधेस आन्दोलनको क्रममा कांग्रेस छाडेर उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका नेता अरगरिया आन्दोलनसँगै उदाएका थिए। पार्टी विभाजन भएपछि विजयकुमार गच्छदारको नेतृत्वमा गठित मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) नेपालको जिल्ला अध्यक्षको जिम्मेवारीमा पाएका थिए।
त्यसपछिका मधेस केन्द्रित राजनीतिमा सक्रिय रहेका अरगरिया २०७४ को प्रतिनिधिसभा निर्वाचनमा संघीय समाजवादी फोरमबाट धनुषा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए। समाजवादी फोरम, समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) हुँदै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालमा आबद्ध थिए।
लोसपामै रहेका बेला केपी ओली नेतृत्वको सरकारमा संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री नियुक्त भएका थिए। अदालतको आदेशका कारण उनी १८ दिनमै पदमुक्त भएका थिए।
अरगरिया २०७९ को निर्वाचनमा टिकटका लागि महन्थ ठाकुर नेतृत्वको लोसपा परित्याग गरी ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका थिए।
एमालेबाटै २०७९ को निर्वाचनमा धनुषा क्षेत्र नं. २ बाटै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका अरगरिया २०८२ फागुनको चुनाव दुवैमा हार बेहोरेका थिए।














