काठमाडौं । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङको जग्गा फिर्ता गर्ने निर्णय गरेको छ । आइतबार सम्पन्न एमालेको सचिवालय बैठकले कलङ्कीमा १० रोपनी १४ आना जग्गासहित घर बनाइदिने गुरुङ दम्पतीको प्रस्ताव धन्यवादसहित फिर्ता गर्ने र बल्खुमा आफ्नै जग्गामा कार्यालय भवन बनाउने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् ।

उनले सर्वोच्च अदालतको पछिल्लो फैसला अनुसार बल्खुमा कार्यालय भवन बनाउन बाधा नरहेको पनि बताए । २०८१ असोजमा व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिँदै घर बनाइदिने भन्दै शिलान्यास समेत गरिएको थियो ।
यस प्रकरणमा आमरुपमा एमालेको ठुलो आलोचना समेत भएको थियो भने पार्टी भित्र पनि यसको विरोध भएको थियो । २०७२ वैशाखमा भूकम्पले एमाले मुख्यालय भत्काएपछि त्यसयता एमाले भाडाको घरमा बस्दै आएको छ ।














