काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले सो कार्यक्रममा आफूले सम्बोधन नगर्ने जानकारी राष्ट्रपति कार्यालयलाई दिएका हुन् ।

गणतन्त्र दिवसको दिन सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुने गर्दछ । समारोहमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष सहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहँदै आएको छ । सो समारोहलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा छ ।
तर, प्रधानमन्त्री बनेदेखि सार्वजनिक समारोहमा नदेखिएका बालेन शाहले गणतन्त्र दिवसको मूल समारोहमा पनि सम्बोधन नगर्ने भएका छन् । प्रधानमन्त्री बालेनले सो समारोहलाई सम्बोधनका लागि राष्ट्रपतिलाई आग्रहसहित पत्र पठाएको खुलेको हो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार गणतन्त्रको प्रतीक राष्ट्रपति नै हुने भएकाले गणतन्त्र दिवस समारोहमा सम्बोधन गरिदिनु हुन अनुरोध गरिन्छ भन्ने ब्यहोराको पत्र बालेनले राष्ट्रपति कार्यालयमा पठाएका हुन् । यस वर्ष राष्ट्रपतिले गणतन्त्र दिवसलाई सम्बोधन गर्ने भएका छन् ।














