Logo
Logo

सामाजिक सञ्जालको प्रशंसा र आलोचनाले न्यायाधीशको मनोविज्ञानमा असर पार्छ 


0
Shares

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिललाई आग्रह गरेका छन् । 

The current image has no alternative text. The file name is: judge-pokharel.jpg

सोमबार काठमाडौंमा आयोजित ‘मानसिक सु-स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा न्यायाधीश पोखरेलले सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानुन व्यवसायीको मनोविज्ञानमा असर पार्नसक्ने बताए । 

‘जुन पब्लिकको चासो भएको मुद्दाको बहस गर्नुहुन्छ वा हामी न्यायधीशहरूले फैसला गर्छौं, त्यो दिनको बेलुकाको सोसियल मिडिया नहेर्ने,’पोखरेलले भने, ‘कुनै एउटा फैसला गर्‍यो वा कुनै एउटा राम्रो मुद्दाको बहस गर्‍यो भने त्यसको नतिजा राम्रो आयो भने प्रशंसा आउँछ। ओ हो म त भयङ्कर रैछु भन्ने वा नराम्रो भए राक्षस नै रहेछु भन्ने सोचाइको विकास हुन्छ ।’

कुनै मुद्दाको फैसला वा बहसपछि सामाजिक सञ्जालमा आउने प्रशंसा र आलोचनाले व्यक्तिमा अतिरञ्जित आत्मविश्वास वा नकारात्मक सोच विकास गराउने भएकाले सामाजिक सञ्जालबाट टाढा रहनुपर्ने उनको भनाइ छ । 

उनले भने ‘त्यो दिनको बेलुकाको अनलाइन मिडिया र सोसियल मिडिया हेर्नु भएन भने भोलि बिहानदेखि त्यो कुराको भाष्य नै परिवर्तन भइसकेको हुन्छ । त्यसकारण तपाइले जुन दिन सार्वजनिक सरोकारको मुद्दाको पैरवी वा फैसला गर्नुहुन्छ, त्यो दिनको केही पनि नहेर्नू ।’

उनले तत्कालीन प्रतिक्रियाभन्दा समयसँगै सार्वजनिक धारणा परिवर्तन हुने भएकाले संवेदनशील मुद्दामा संलग्न हुनेहरूले त्यस दिन अनलाइन र सोसल मिडिया नहेर्नु नै उपयुक्त हुने बताए । 

प्रतिक्रिया दिनुहोस्