११ जेठ, काठमाडौं । युरोपेली संघ ईयूका २२ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको छ । टोलीले मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाहले पदभार ग्रहण गरेपछि विदेशी कूटनीतिज्ञहरूसँग औपचारिक भेट नगरेको अवस्थामा ईयू टोलीसँगको यो पहिलो सामूहिक भेट हुन लागेको हो ।
नेपालका लागि ईयूकी राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा विभिन्न २२ सदस्य राष्ट्रका राजदूत तथा उप–मिसन प्रमुख सहभागी छन् । ईयूले यो भ्रमणलाई नेपालसँगको सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ ।
प्रतिनिधिमण्डलले सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल, पर्यटनमन्त्री खड्कराज पौडेल र शिक्षामन्त्री सस्मित पोखरेलसँग पनि भेट गर्नेछ । साथै निजी क्षेत्र, नागरिक समाज र युवा नेताहरूसँग छलफलको कार्यक्रमसमेत रहेको छ ।
ईयूकी राजदूत लोरेन्जोले नेपालसँग व्यापार, लगानी, जलवायु कार्य र विकास सहकार्यका नयाँ अवसर खोज्न भ्रमण केन्द्रित रहेको बताएकी छन् ।














