Logo
Logo

वर्किङ भिसाको नाममा ‘ठगी धन्दा’, जापान पुर्‍याएपछि ज्यान मार्ने धम्की दिएको पीडितको आरोप


0
Shares

काठमाडौं । पछिल्लो समय नेपालबाट वर्किङ भिसामा जापान कामदार पठाउने बहानामा ठगी धन्दा मौलाएको छ । जापानमा आकर्षक रोजगारीको प्रलोभन देखाएर कतिपय गिरोहले सयौँ नेपाली युवालाई ठगी गरिरहेका छन् ।

विभिन्न म्यानपावर कम्पनी, कन्सल्टेन्सी, तिनका एजेन्ट र भाषा केन्द्र (लैङ्ग्वेज इन्स्टिच्युट)हरूले जापान पठाएर प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म असुल गर्ने गरेका छन् । कसैले भने व्यक्तिगत रुपमा नै जापान लैजाने र त्यहाँ पुगेपछि सम्झौता अनुसारको काम नदिई अलपत्र पार्ने गरेका छन् ।

यस्तै ठगी कार्यमा बन्दिपुर–१, तनहुँ स्थायी ठेगाना भई हाल काठमाडौं-३२, नरेफाँट बस्ने विनोदकुमार श्रेष्ठ र जापानमै बसोबास गर्दै आएकी उनकी व्यावसायिक साझेदार (पार्टनर) रविता श्रेष्ठ मुछिएका छन् ।

लामो समयदेखि नेपाल-जापान आउजाउ गर्दै आएका विनोद आधा समय नेपालमै बस्ने र यहाँ रहँदा युवाहरूलाई प्रलोभनमा पारेर जापान पठाउने काममा सक्रिय हुने गरेको पाइएको छ । विनोद र रविताले प्रतिव्यक्ति १५ देखि २० लाख रुपैयाँसम्म उठाएर जापान पुर्‍याए पनि काम नदिएको पीडितहरूको आरोप छ । उनीहरूमार्फत मात्रै दुई सय जनाभन्दा बढी नेपाली युवा ठगिएको एक पीडितको दाबी छ ।

नेपालबाट कामदार भिसा भन्दै जापान पुर्‍याए पनि त्यहाँ पुगेपछि नेपाली कामदारले वर्किङ भिसा नै नपाउने गरेको पीडितहरूको भनाइ छ । नेपाल सरकारबाट श्रम स्वीकृति लिएरै जापान पुर्‍याए पनि विनोद र रविताले त्यहाँ कानुनी रूपमा काम गर्न पाउने भिसा उपलब्ध नगराई अलपत्र पार्ने गरेको गुनासो पीडितहरूले गरेका छन् ।

त्यति मात्र होइन, जापान पुगेपछि सम्झौता अनुसारको काम माग गर्दै फोन गर्ने पीडितहरूलाई विनोद र रविताले ज्यान मार्ने धम्की समेत दिने गरेको आरोप लागेको छ । एक पीडितले भने, “हामी ठगीमा मात्र परेका छैनौँ, हाम्रो ज्यान नै खतरामा परेको छ । काम किन नदिएको भनेर गुनासो गर्दा उल्टै ज्यान मार्ने धम्की आउँछ ।”

विनोद र रविताले नेपाली युवालाई जापान लैजाने क्रममा व्यापक किर्ते गर्ने गरेको पीडितहरूको आरोप छ । उनीहरूले सामान्य शैक्षिक योग्यता भएका नेपालीलाई समेत नक्कली कागजात बनाई प्रोफेसनल भिसामा जापान पुर्‍याउने गरेको पीडितहरु बताउँछन् ।

अधिकांश नेपालीलाई इन्जिनियर भिसामा जापान पुर्‍याइएको र त्यसका लागि नेपालका इन्जिनियरिङ कलेज तथा प्रमाणपत्र प्रदान गर्ने सरकारी निकायका नक्कली कागजात एवं छाप किर्ते गर्ने गरिएको दाबी गरिएको छ ।

प्रहरी भाइमार्फत धम्की !
विनोदका भाइ विकास श्रेष्ठ सशस्त्र प्रहरी बलमा कार्यरत छन् । विनोदले आफ्ना भाइ विकासमार्फत पनि पीडितहरूलाई धम्काउने गरेको गुनासो छ । आफूहरू ठगीमा परेको भन्दै सामाजिक सञ्जालमा आवाज उठाउनेहरूलाई विकासले विभिन्न मुद्दा लगाएर जेल हाल्दिने धम्की दिने गरेको पीडितहरू बताउँछन् ।

“हामीलाई अलपत्र पारेर विनोद भागेपछि हामीले सामाजिक सञ्जालमा ठगीबारे लेख्यौँ । त्यसपछि उनका भाइ सम्पर्कमा आए,” एक पीडितले सुनाए, “भाइले सुरुमा कुरा मिलाउँछु भन्दै फकाउन खोजे । तर, पछि अनेक मुद्दा लगाएर जेल कोच्ने धम्की दिन थाले । अहिले पनि उनले धम्काउन छाडेका छैनन् ।”

विभागले उजुरी नै नलिएको गुनासो
जापानमा अलपत्र परेर नेपाल फर्किएका केही पीडित युवा उजुरी लिएर वैदेशिक रोजगार विभाग पुगेका थिए । तर, विनोदको नाम सुन्नेबित्तिकै विभागले उजुरी दर्ता गर्न समेत अस्वीकार गरेको उनीहरूको गुनासो छ ।

एक पीडितले भने, “हामी ठगीमा परेका केही युवा उजुरी दिन विभाग पुगेका थियौँ । कर्मचारीले सुरुमा उजुरी लेख्न लगाए । तर, उजुरीमा विनोदको नाम देखेपछि विभागका कर्मचारीले दर्ता गर्नै मानेनन् ।”

वैदेशिक रोजगार विभागले उजुरी लिन आनाकानी गरेपछि पीडितहरूले विनोद र विभागका कर्मचारीबीच भित्री सेटिङ हुन सक्ने आशंका गरेका छन् । न्यायका लागि भौंतारिएका पीडितहरूले सरकारी निकायबाटै असहयोग पाएपछि थप निराश बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्