सुनसरी । सशस्त्र प्रहरी बलले सप्तकोशी नदीको बीच टापुबाट करिब ४ सय ७५ किलोग्राम अवैध गाँजा बरामद गरेको छ ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र उदयपुरको बेलका नगरपालिका-८ को सीमा क्षेत्रमा पर्ने कोशी नदीको टापुमा १६ वटा बोरामा लुकाएर राखिएको अवस्थामा जेठ ११ गते सो गाँजा फेला परेको हो ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस चतरा र सुरक्षा बेस रामपुरको संयुक्त प्रहरी टोलीले सो गाँजा बरामद गरेको हो ।
नदीको बीच टापुमा रहेकाले सशस्त्र प्रहरीले र्याफ्ट बोटको प्रयोग गरी गाँजा नदी किनारमा ल्याएको थियो । बरामद गरिएको गाँजालाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विष्णु प्रसाद भट्टले जानकारी दिए ।














