काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संविधान संशोधन बहसका लागि सरकारी कार्यदलमा मात्र सीमित रहन नहुने बताएका छन् ।

प्रतिनिधि सभाको बैठक बोल्दै संविधान संशोधनबारे बहस गर्नको लागि शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्नुपर्ने माग राखेका हुन् ।
उनले भने, ‘संविधान संशोधनका लागि पूर्व प्रधानन्यायाधीशको संयोजनमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ र नागरिक समाजका प्रतिनिधिहरू समावेश गरी शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्नु जरुरी छ । उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेच सम्मेलनमा जानु आवश्यक छ ।
राष्ट्रिय जटिलता, वैश्विक द्वन्द्व र सामाजिक ध्रुवीकरणको अवस्थामा सत्ता वरिपरि केन्द्रित बहसले मात्र संविधान संशोधन सफल नहुने केसीको भनाइ रहेको छ । उनले भने, ‘बृहत् राष्ट्रिय संवादबाट मात्र यसले वैधता, जनविश्वास र साझा राष्ट्रिय सहमति निर्माण गर्न सक्छ र दीर्घकालीन स्थिरता, लोकतान्त्रिक विश्वास तथा राष्ट्रिय एकता र मेलमिलापको आधार तयार गर्न सकोस् ।’














