काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णहरि बुढाथोकीले सरकारलाई आइतबार र शनिवार बिदा दिने निर्णय तत्काल पुनर्विचार गर्न माग गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै रास्वपाका सांसद शिक्षा र स्वास्थ्य क्षेत्रको दुई दिन सार्वजनिक बिदा दिने निर्णय कुनैपनि पक्षबाट सही नभएको भन्दै पुनर्विचार गर्न सरकारसँग माग गरेका हुन् । शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सरकारको सो निर्णय व्यवहारिक र सेवाग्राही मैत्री नभएको सांसद बुढाथोकीको तर्क छ । उनले सार्वजनिक विद्यालयहरुको समायोजनमा तिब्रता दिन पनि सरकारलाई सचेत गराए ।
सांसद बुढाथोकीले भने ,‘शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गरिएको हप्तामा दुई दिनको बिदा व्यवहारिक नभएको व्यापक गुनासो भयो । यसले विद्यार्थी बरालिने र पाठ्यक्रम पूरा गर्न समस्या सृजना गरेको छ । सार्थ २ दिनको बिदाको कारण नागरिकहरू आकस्मिक स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनुपर्ने अवस्था छ । शिक्षा र स्वास्थ्य जस्ता संवेदनशील क्षेत्रमा यो व्यवस्था तत्काल पुनर्विचार गर्न सरकारको विशेष ध्यानाकर्षण गराउन चाहन्छु । गाउँमा विद्यालयहरूमा विद्यार्थी सङ्ख्या अत्यन्तै न्यून भएर विद्यार्थीहरूको लागत बढिरहेको छ । विद्यालयहरू समायोजन गरी आवासीय विद्यालयहरू बनाउँदा शिक्षाको गुणस्तरमा सुधार हुने देखिन्छ । यसतर्फ सरकारको ध्यान जाओस् ।’
सांसद बुढोथोकीले सार्वजनिक विद्यालयहरूमा गुणस्तरीय सेवा प्रदान गर्न पनि सरकारले उचित पहल गर्नुपर्ने बताए ।














