
काठमाडौं । सरकारले मनसुन प्रतिकार्यका लागि यस वर्ष २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्वीकृत गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ अनुसार सम्भावित विपद्को सामना गर्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २६ हजार सुरक्षाकर्मीलाई फिल्डमा तैनाथ गर्न लागिएको हो ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीका अनुसार मनसुन सुरु हुनासाथ यी सुरक्षाकर्मीहरूलाई आवश्यक क्षेत्रमा खटाइनेछ । यसका साथै विपद्को समयमा तत्काल सहयोग पु¥याउन सम्भावित स्थानहरूमा १४ हजार स्वयंसेवकहरू समेत परिचालन गर्ने तयारी प्राधिकरणले गरेको छ ।
विगतका विपद्का घटना र प्रभावका तथ्याङ्कहरूको विश्लेषण गरी क्षति न्यूनीकरण गर्न र प्रतिकार्यलाई प्रभावकारी बनाउन यो कार्ययोजना लागू गरिएको हो । प्राधिकरणले यस वर्ष मनसुनजन्य विपद्बाट देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुन सक्ने पूर्वानुमान गरेको छ । सम्भावित जोखिमको आकलनका आधारमा विभिन्न मन्त्रालय र सुरक्षा निकायहरूको कार्यजिम्मेवारी समेत निर्धारण भइसकेको छ ।
यसैबीच, विपद्को समयमा उद्धार, राहत तथा प्रतिकार्यका कार्यहरूलाई तीव्रता दिन बजेटको समेत व्यवस्था गरिएको छ । हाल जिल्ला, प्रदेश र केन्द्रको विपद् व्यवस्थापन कोषमा गरी कुल ७ अर्ब ५६ करोड रुपैयाँ रकम मौज्दात रहेको छ । यो रकम प्राधिकरणको समन्वयमा विपद् व्यवस्थापनका कार्यहरूमा खर्च गरिने उपसचिव केसीले जानकारी दिए ।














