
काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले देशभरका सरकारी अस्पतालहरूमा डायलासिस मेसिनको पर्याप्त व्यवस्था गरी सेवा विस्तार गर्न सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद सिद्धिकीले राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिनको अभावका कारण बिरामीहरूले ठूलो सास्ती भोग्नुपरेको प्रति सरकारको ध्यानाकर्षण गराएकी हुन् । मेसिनको अभावले गर्दा बिरामीहरू उपचारका लागि काठमाडौँ आउनुपर्ने बाध्यता रहेको र यसले गर्दा उनीहरूमाथि ठूलो आर्थिक भार थपिएको उनले बताइन् ।
उनले बिरामी र उनीहरूका परिवारको यो समस्यालाई मध्यनजर गर्दै देशभरका कुन–कुन अस्पतालमा मेसिनको आवश्यकता छ भन्नेबारे अध्ययन गर्न सरकारलाई सुझाव दिइन् ।
सांसद सिद्धिकीले भनिन्, ‘सेवा प्रवाह, नागरिकको भलाइ र अधिकारको संरक्षणको सन्दर्भमा मानव अधिकारको प्रत्याभूति हुनुपर्दछ । तर राप्ती प्रादेशिक अस्पतालमा डायलासिस मेसिनको कमीले बिरामीहरू आर्थिक समस्या झेल्दै काठमाडौं धाउनुपर्ने अवस्था छ ।’
उनले सभामुखमार्फत नेपाल सरकारलाई अनुरोध गर्दै आगामी दिनमा देशका सबै अस्पतालहरूमा आवश्यकताअनुसार डायलासिस मेसिन उपलब्ध गराउन माग गरेकी छन् ।














