Logo
Logo

मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन सरकारका लागि कति बाध्यकारी ?


0
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङलाई मानव अधिकार उल्लङ्घन गरेको ठहर गर्दै कानुन बनाइ कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ । 

The current image has no alternative text. The file name is: human-right-commision.jpg

राष्ट्रिय मानव अधिकार आयोगले गत २०८२ भदौ २३ को जेनजी युवाहरूको प्रदर्शनको क्रममा भएको दमन र २४ भदौको विध्वंसको घटनाबारे छानबिन गरी उक्त सिफारिससहित सरकारलाई प्रतिवेदन बुझाएको हो । आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्लेले आन्दोलनको क्रममा राज्य संयन्त्रबाट गम्भीर मानव अधिकार उल्लङ्घन भएको तथ्य आयोगको अनुसन्धानबाट पुष्टि भएको बताए । उनले नेपालमा मानव अधिकार उल्लङ्घनको विषयमा कारबाही गर्न कानुनको अभाव रहेको भन्दै कानुन निर्माण गरी कारबाही गर्नु भनिएको बताए । उनले जेनजी आन्दोलनको क्रममा  दोषी देखिएकाहरूमाथि कारबाही गर्न तथा पीडितलाई क्षतिपूर्ति र घाइतेको निःशुल्क उपचार गर्न सिफारिस गरिएको बताए । 

 उनका अनुसार अनुसन्धान प्रतिवेदनमा आन्दोलन नियन्त्रणका क्रममा बल प्रयोग भएको निष्कर्षसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुखमाथि संविधानको धारा २४९ को उपधारा २ (ग) बमोजिम गर्न र निजहरुलाइ भविष्यमा कुनै पनि सरकारी सेवाको जिम्मेवारी नदिने गरी रेकर्ड राख्न सिफारिस गरिएको छ । उनले नेपाली सेनाका प्रधान सेनापतिलाई मानव अधिकार संरक्षणमा संवेदनशील रहन निर्देशन दिइएको समेत बताए । उनकाअनुसार आयोगले सिंहदरबार र राष्ट्रपति कार्यालय क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूलाई भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन सचेत गराउन सरकारको ध्यानाकर्षण गराएको छ । 

सहायक प्रवक्ता काफ्लेले भने, ‘प्रतिवेदनले मुख्य रूपमा देखाएको विषयहरू के छ भने यसमा प्राप्त तथ्यको आधारमा राष्ट्रिय मानव अधिकार आयोगले केही सिफारिसहरू गरेको छ । कानुन बनाएर दोषीलाई कारबाही गर्नु भन्ने विषय एउटा रहेको छ । त्यसपछि केही व्यक्ति हरूलाई मुद्दा चलाउनको लागि सिफारिस गरेको छ । त्यस्तै केहीमा निर्देशन दिने र सचेत गराउनलाई सिफारिस गरेको छ । त्यो बाहेक राष्ट्रिय मानव अधिकार आयोगको क्षेत्राधिकारमा नपर्ने विषयमा सूक्ष्म अनुसन्धान गरेर कारबाही गर्नु भनेर सिफारिस गरेको छ । आन्दोलनका पीडितहरूलाई क्षतिपूर्ति दिनलाई सिफारिस गरेको छ । त्यस्तै तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र संचारमन्त्रीको हकमा राष्ट्रिय मानव अधिकार आयोगले उहाँहरू मानव अधिकार उल्लङ्घनमा दोषी देखिएको र यसरी मानव अधिकार उल्लङ्घन गरेको विषयमा नेपालमा कानुन नभएकोले कानुन बनाएर कारबाही गर्नु भनेर सिफारिस गरेको अवस्था छ । त्यसैगरी आन्दोलनको क्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको हकमा चाहिँ मुद्दा चलाउनलाई सिफारिस गरेको छ । र आयोगले उहाँहरूलाई भविष्यमा सरकारी सेवामा कुनै पनि जिम्मेवारी नदिन भनेर अर्को सिफारिस पनि गरेको छ । निर्देशनको सन्दर्भमा मानव अधिकारको संरक्षणमा सचेत रहन भनेर नेपाली सेनाका प्रधान सेनापतिलाई निर्देशन दिइएको छ । सिंहदरबार र राष्ट्रपति कार्यालयमा खटिएका सुरक्षा कर्मचारीलाई पनि त्यसो नगर्न भनेर सचेत गराउन  भनी कमाण्डरलाई सिफारिस गरेको स्थिति छ ।’

काफ्लेले जेनजी आन्दोलनको क्रममा इटहरी र झापामा भएका हिंसात्मक घटनामा व्यक्तिको मृत्यु भएको घटनाको छुट्टै विस्तृत अनुसन्धान गर्न समेत सरकारलाई सिफारिस गरिएको बताए । घटनामा संलग्न व्यक्तिको पहिचान, आदेश दिने संरचना र सुरक्षाकर्मीको भूमिकामाथि सूक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सिफारिस गरेको छ । साथै आयोगले आन्दोलनका लागि अनुमति माग्नेहरूको भूमिकामाथि पनि संशय उत्पन्न भएकाले हिंसा भड्किनुमा आयोजक पक्षको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नताबारे सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ । उनकाअनुसार आयोगले टिओबी ग्रुप लगायत घटनामा संलग्न ५१ जनामाथि कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।

उनले भने, ‘जेनजी आन्दोलनको सन्दर्भमा काठमाडौंमा मात्र नभएर देशका विभिन्न ठाउँमा घटनाहरू भएको थिए । त्यस क्रममा इटरीमा र झापामा पनि व्यक्तिहरूको मृत्यु भएको थियो । ती घटनाका सम्बन्धमा विस्तृत रूपमा अनुसन्धान गरी दोषिलाई कारबाही गर्नु भनिएको छ । देशका विभिन्न बाल सुधार गृहहरूमा पनि आन्दोलन भएर कतिपय बालविजियाईमा परेका बालबालिकाहरु चाहिँ रहेका हिरासतमा उनीहरूको मृत्यु भएको छ । त्यो विषयमा पनि थप अनुसन्धान हुनुपर्ने देखेर मानव अधिकार आयोगले सिफारिस गरेको छ । त्यस्तै २३ र २४ गतेको कार्यक्रमका जो आयोजकहरू हुनुहुन्थ्यो उहाहरुले माथि पनि त्यो हिंसा भड्किने कुरामा उहाहरुको हात के छ रु भन्ने विषयमा त्यो विषयमा नि कारबाही गर्नु भनेको छ । त्यो बाहेक हिंसा भड्काउने लगायतका कामहरूमा रास्वपा सांसद गणेश कार्की समेतका ५१ जना व्यक्तिहरूको समेत संलग्नता हुनसक्ने भएको हुनाले त्यो विषयमा समेत अनुसन्धान गरेर कारबाही गर्न भनेर भनिएको छ । हिंसा भड्काउने सन्दर्भमा टिओबी ग्रुपमाथि पनि छानबिन गर्नु भनेको छ ।  भदौ २४ गतेको घटनामा फौजदारी कानुनको क्षेत्राधिकार भित्रको आपराधिक घटना भएको हुनाले त्यो विषयमा सूक्ष्म रूपमा अनुसन्धान गर्न भनेर सिफारिस गरिएको छ । नख्खु कारागारबाट कैदीबन्दीहरु निस्किएको सन्दर्भमा एउटा पार्टीको अध्यक्ष निस्किनुभएको घटनामा तीन जना व्यक्तिहरूमाथि अनुसन्धान गरी कारबाही गर्नु भनिएको छ । आन्दोलनको क्रममा क्षति भएका निजी क्षेत्रका व्यापारी लगायतलाई क्षतिपूर्ती दिनु भनी सिफारिस गरिएको अवस्था छ । जेन–जी आन्दोलनको क्रममा २३ र २४ गतेको क्रममा घाइते भएकाहरू अहिले पनि उपचार गरिरहनुभएको छ । उहाँको लागि निशुःल्क औषधीको प्रबन्ध गर्न पनि सिफारिस गरिएको छ ।’

उनले नख्खु कारागारबाट कैदीबन्दी बाहिरिएको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान गरी फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरेको बताए । साथै प्रतिवेदनमा देशका विभिन्न बाल सुधार गृहमा आन्दोलन तथा अशान्तिका क्रममा बाल बन्दीहरूको मृत्यु भएको घटनामाथि थप अनुसन्धान गर्न सिफारिस गरिएको समेत सहप्रवक्ता काफ्लेले बताए । उनकाअनुसार आयोगले आन्दोलनका क्रममा नजी क्षेत्रका व्यवसायी, व्यापारी तथा सर्वसाधारणको सम्पत्तिमा भएको नोक्शानीको क्षतिपूर्ति उपलब्ध गराउन सिफारिस गरिएको बताए ।

आयोगले सरकारलाई बुझाएको प्रतिवेदन कसरी कार्यान्वयन हुन्छ भन्नेबारे सर्वत्र चासो छ । उनले आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकार संवैधानिक रूपमा बाध्य रहेको र तीन महिनाभित्र कार्यान्वयन गर्नुपर्ने बाध्यकारी व्यवस्था रहेको बताए । सिफारिस कार्यान्वयन गर्न नसकेको खण्डमा सरकारले दुई महिनाभित्र कारणसहित आयोगलाई जानकारी गराउनुपर्ने कानुनी व्यवस्था रहेको पनि उनले जानकारी दिए ।

उनले भने, ‘यदि सरकारले कार्यान्वयनमा समस्या भएको जानकारी पठाउँछ भने आयोगले पुनर्विचार गर्न सक्छ । नयाँ तथ्य आएमा त्यसअनुसार निर्णय हुनसक्छ । तर सरकारले कुनै प्रतिक्रिया नपठाए आयोगले सिफारिस कार्यान्वयन प्रक्रियामा गएको ठान्छ ।’ आयोगले बुधवार कारबाहीको सिफारिससहितको प्रतिवेदन सरकारलाई बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस्