Logo
Logo

सरोजको जापान यात्रापछि…


441
Shares

नेपालमा बन्न लागेको नयाँ अस्पतालको निम्ति नयाँ योजना बनाउन जापानी मित्र कुराउचि–सानले बोलाएको जापान यात्रा पनि सकियो । आफ्नो योजनाबारे नयाँ आशाका साथ उत्साहित भएर सरोज फर्के । देशकै निम्ति त्यो बेला एउटा अस्पताल थपिनु खुसीको कुरा हुन्थ्यो । सरोजकै निम्ति त आफ्नो एउटा सपना साकार हुने सम्भावना बढ्नु झन् कति ठुलो कुरा ! तर हाम्रो पारिवारले– खासगरी मैले र छोरीले– यसको निम्ति ठुलो मूल्य तिर्नुप¥यो ।

सरोज जापान जाने कुराले नै हाम्रो योजनामा असर पर्छ कि भनेर म चिन्तित भइसकेकी थिएँ । दुई–तीन महिनाको निम्तिमात्र छोरीलाई नेपालमा एक्लै छोड्ने कुरा थियो । ऊ खुसी भइरहेकै बेला नेपाल फर्किन पाएको भए हाम्रो निम्ति राम्रो हुन्थ्यो । सुरुमा त्यस्तै समझदारी थियो । तर सरोजको जापान यात्राले गर्दा उनको थेसिस डिफेन्समा ब्रेक लाग्यो ।

ढिलो हुने भयो । थोरै ढिलो भएर त केही हुने थिएन, तर घरमा छोडेको बच्चीको निम्ति त्यो समय विशेष महत्वको थियो । नयाँ स्कुलमा पढाई सुरु भइसकेको थियो । नयाँ ठाउँमा नयाँ तरिकाले गाइड गर्नुपर्ने बेला थियो । त्योभन्दा पनि ठूलो कुरा त के थियो भने संयुक्त परिवारमा कहिल्यै नबसेकी, रहनसहनको अनुभव नगरेकी सानी बच्चीलाई त्यसरी छोड्दाको पीडा थियो ।

छोरी पनि आत्तिसकेकी थिइँ । भनेको समयमा बाबुआमा नआउँदा उसलाई गाह्रो भएको कुरा बुझ्न थालेँ । सपनामा पनि खुसी नभएको कुरा देख्न थालेकी थिएँ । म एक्लै भए पनि फर्कुं भन्ने लागिसकेको थियो । आफ्नो बच्चा खुसी नहुने बेला आमा कसरी खुसी हुन सक्थेँ र ! यतिबेला शारीरिक रुपमा स्वस्थ भए पनि मानसिक रुपमा म व्यथित थिएँ ।

छोराछोरीलाई सानोमा आमाले छोड्नु हुन्न भन्ने कुरा अरुलाई पनि भन्ने गर्थेँ म । आफ्नो बच्चालाई छोडेर काममा लाग्ने कुरा मेरो अन्तर्मनले स्वीकार्दैन थियो । त्यसैले नै मैले राजनीतिका ठूला जिम्मेवारी छोडेकी थिएँ । बच्चा साथमा राखेर जति सकिन्छ त्यतिमात्रै गर्ने भनेर । सानो बच्चालाई पोको पारेर तराईमा काम गर्न जाँदा विवेक नभएको परिवारसँग सहकार्य गर्नु पर्दाको व्यथा पनि आलै घाउ जस्तो थियो । परिवारलाई नयाँ तरिकाले अघि बढाउने मेरो योजना थियो । चीनको बसाइ लम्बिँदा मेरो छट्पटी बढ्न थालेको थियो । छोरीसँग फोन गर्न पनि बाहिर टेलिफोन अफिसमा जानुपर्ने, भनेको बेलामा फोन गर्न नपाइने ! जापानबाट सरोज फर्केपछि पनि म त्यति खुसी हुन सकिनँ, छोरीको चिन्ताले गर्दा ।

त्यसपछि उनी आफ्नो थेसिस सिध्याउन अत्यन्तै ब्यस्त हुन थाले । कोठाभरि थेसिसका पानाहरु छरिएर बस्थे । त्यतिबेलासम्म कम्प्युटरसमेत सहजै पाउने बेला थिएन । टाइप राइटरमा नै थेसिस टाइप गर्नुपथ्र्यो । फेरि अर्कै ढंगले व्यस्त हुन थाल्यौँ हामी । उनको व्यस्ततालाई नजिकबाट देखेर पनि मैले थेसिसको मामलामा केही सहयोग गर्न सक्दिन थिएँ । मैले सर्जरीबारे केही बुझ्ने कुरै भएन ।

त्यो बेलाको मनस्थिति र घटनाहरुबारे कहिलेकहिले डायरी पल्टाएर हेर्छु । कति एक्लै डायरीसँग कुरा गरेर पनि समय काट्दिरहेछु । डायरी मेरो परम मित्र भएको समय थियो त्यो । त्यो बेलामा पेटमा अर्को बच्चा पनि भइसकेको कुरा हस्पिटलले रिपोर्ट दियो । त्यतिबेला नजिकबाट सहयोग गर्ने चिनियाँ साथी थिइन् रन् को–फन् । उनी आफँै पनि डाक्टर भएकोले धेरै सुझाव पनि दिन्थिन् । तागतिलो खाना जरुरी हुन्छ भनेर आफैँले मीठो तागतिला खाना बनाएर पनि ल्याइदिरहन्थिन् बेला बेलामा । उनको गुनलाई पनि बिर्सिन्न म ।

उता काठमाण्डु मोडेल अस्पतालको स्थापनाको तयारीका बारे भने साथीहरुबाट राम्रो समाचार पनि आउन थाल्यो । अस्पताल निर्माणको निम्ति संस्था दर्ता गरेर तयारीको जिम्मा साथीहरुलाई सुम्पिएर उनी शांघाई फर्किएका थिए र त्यही क्रममा जापान गएका थिए । सुमन श्रेष्ठ र गौरी प्रधानबाट राम्रै समाचार आउँदा भने थेसिसको तयारीमा व्यस्त हुँदाहुँदै पनि उनी खुसी भए ।

मेरो मनमा पनि आशा जाग्न थाल्यो । तर त्यस्तै बेला सुमनको एउटा फ्याक्सले हामीलाई चिन्तित बनायो । पद्म दाई ( पद्मरत्न तुलाधर)को मुटुमा समस्या देखिएको कुरा थियो । बाइपास सर्जरीको निम्ति साङ्हाई ल्याउने पो हो कि भन्ने कुरा थियो । सरोजले तुरुन्तै उनका प्रोफेसरहरुसँग सल्लाह गरे । उनीहरुको भनाइमा शाङ्घाइमा भन्दा पइचिङमा लानु राम्रो हुनेछ भन्ने भयो ।

जहाँ भए पनि चीनमा आउनुभयो भने हामीले सक्दो सहयोग पु¥याउनुपर्छ भन्ने हामीलाई लाग्यो । नेपालमा चुनावको तनावले र आराम पनि राम्रो नपाएकोले पद्म दाईको स्वास्थ्यमा असर परेको रहेछ । तर उहाँ चीन आउनु भएन । सुमनको जापानी साथीहरुसँग राम्रो सम्बन्ध भएकाले जापानमै लगेर उपचार गराउन उनी सफल भए ।
मेरो युनिभर्सिटीमा पढाई अझै नसकिएका जापानी साथीहरुसँग बरोबर भेटघाट भइनै रह्यो ।
कहिल्यै नबिर्सिने साथी नुरिकोसँग त गहिरा अन्तरङ्ग कुरा पनि भइ रहन्थे । उनी हाम्रोनिम्ति अत्यन्तै शुभचिन्तक थिइन् । हामीलाई पैसाको खाँचो पर्दा पनि उनैसँग पैसा सापटी लिने गर्थेँ । उनको बिहे भएको थिएन । केटा साथी पनि थिएन । “अब त राम्रो एकजना साथी बनाउनु नि !” भन्थें । त्यतिबेला कोही असल साथीसँग सम्बन्ध भइदिए राम्रो हुन्थ्यो भन्ने लाग्थ्यो मलाई । उनी भन्थिन्– प्राकृतिक ढंगले प्रकृतिको नजिक बसेर मान्छेको सेवा गरेर जीवन बिताउँछु… तिमीले किन चिन्ता लिने ?” नभन्दै २०१८ मा म फेरि जापान जाँदा उनको स्वच्छ तरिकाले बाँच्ने जीवनशैली देख्दा मलाई नै लोभ लाग्यो !

चीनमा पाँच वर्षको समय बिताउँदा धेरै कुरा सिकें । अन्तरराष्ट्रिय जगतमा विभिन्न देशका साथीहरुसँग हातेमालो गर्ने मौका पनि पाएँ । छुटेको पढाई पूरा गरेँ । चीनको संस्कृतिलाई नजिकबाट हेरेँ । चिनियाँ खाना संसारमा त्यतिबेला पनि नामी नै थियो । औपचारिक कक्षामा गएर चिनियाँ खाना बनाउने तालिम पनि लिएँ ।

विदेशीहरुको निम्ति दिएको त्यो तालिममा भाग लिएर पहिलो पुरस्कार पनि जितेँ र प्रमाणपत्रसमेत लिएँ । पछि नेपाल फर्केपछि एकपल्ट औपचारिक तालिम आयोजनासमेत गरेँ– साथीहरुसँग मिलेर । चिनियाँ राजदूतावासको सांस्कृतिक विभागको समेत मान्यता प्राप्त गरेर त्यो औपचारिक तालिम सम्पन्न भएको थियो । त्यतिबेलाको नेपाल टेलिभिजनले प्रसारण पनि गरेको थियो ।

पछिपछि फेरि भइरहोस् त्यस्तो तालिम भन्ने माग पनि आयो । तर म झन् झन् व्यस्त हुन थालेँ– दुईजना बच्चा हुर्काउन । विश्वभाषा क्याम्पसमा पढाउने र लेखनको कामले गर्दा त्यो सिकेर आएको कुरा पनि घर व्यवहारमा मात्रै सीमित हुन थाल्यो … …।

प्रतिक्रिया दिनुहोस्