काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण सबै नेपालीको साझा जिम्मेवारी भएको बताएका छन् ।
गणतन्त्र दिवस-२०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले भने, “नेपाली जनताको अथक त्याग, बलिदान र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धिको संरक्षण र सुदृढीकरण आजको प्रमुख आवश्यकता हो ।”

उनले जनआन्दोलन २०६२/६३ को सफलतापछि स्थापित गणतन्त्रलाई संस्थागत रूपमा मजबुत बनाउँदै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्र बनाउन सकिने बताए । लोकतान्त्रिक मूल्य, मान्यता र संस्कृतिमा आधारित न्यायपूर्ण तथा समतामूलक समाज निर्माणमा गणतन्त्र दिवसले सबैमा नयाँ ऊर्जा र प्रेरणा प्रदान गर्ने उनको विश्वास छ ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पनि गणतन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत सुदृढीकरणबाट मात्रै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् ।














