काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सुशासन र समृद्धि हासिल गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली जनताले सुशासनसहितको समृद्धि खोजेको उल्लेख गरे । उनले उपलब्ध स्रोत-साधनको उच्चतम उपयोग गर्दै कृषि, पर्यटन, ऊर्जा र उद्योग क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो।बलियो जनादेशसहितको सरकार गठन भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले वर्तमान सरकारले सुशासन, सार्वजनिक सेवा सुधार, आर्थिक पुनरुत्थान र भ्रष्टाचारप्रति शून्य सहनशीलतालाई मुख्य मार्गदर्शन बनाएकोमा खुसी व्यक्त गरे ।
शासकीय सुधारका १०० कार्यसूचीको पूर्ण कार्यान्वयन, सीमाविहीन अर्थतन्त्र र तौलविहीन व्यापारका लागि गरिएका कानुनी तथा संरचनागत सुधारले जनतामा नयाँ आशा जगाउने उनको विश्वास छ । “राजनीतिक व्यवस्था र शासकीय संरचनामा परिवर्तनले मात्र युगको अपेक्षा पूरा हुँदैन,” भन्दै राष्ट्रपति पौडेलले राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा पनि परिवर्तन ल्याउनुपर्ने बताए । उनले गणतन्त्रलाई बचाउन र सुदृढ बनाउन सबै राजनीतिक दल तथा सरोकारवालालाई उच्च निष्ठा, आचरण र एकताका साथ लाग्न आह्वान गरे ।














