
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ५० लाखसम्मका गाडीमा मूल्य घट्ने दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघको बजेटपछिको अन्तक्र्रिया कार्यक्रममा विलासी गाडीमा मात्रै कर बढेको बताएका हुन् ।
उनले केही वर्षअघिसम्म विद्युतीय गाडीको प्यानिट्रेशन बढाउन धेरै छुट दिएपनि अहिले आवश्यकता अनुसार कर लगाएको बताए ।
‘अहिले १ करोडसम्मका विद्युतीय गाडी चढेर हिड्नु विलाशिता हो । यो सबैले स्वीकार गर्नुपर्छ,’ अर्थमन्त्रीले भने, ‘प्रधानमन्त्रीले ५० लाख तलका गाडीमा नबढाउन निर्देशन दिनुभएको थियो । ५० लाख माथिका गाडीमा बढाउँदा खासै फरक नपर्ने आशय थियो ।’
उनले व्यवसायीहरु किलोवाटका आधारमा गाडी भित्राउँदा महालेखाले प्रश्न उठाएपछि तनावमा देखिएको बताए । उनले किलोवाटको सट्टा मुल्यका आधारमा लगाउँदा अटो व्यवसायीहरुले समेत राहात महशुस गरेको बताए ।
विद्युतीय गाडी पूर्ण रुपमा स्वच्छ उर्जा नभई ब्याट्री व्यवस्थापन गर्ने विषय पेचिलो रहेको उनले बताए ।














