Logo
Logo

सपना रोका मगर : पहिले छ्याछ्या, अहिले वाहवाही


- एमपी सुब्बा


  • एमपी सुब्बा

सपना रोका मगर को हुन् ? हिजोका दिनसम्म कसैले चिन्दैन थिए । नजिकबाट चिन्नेले घृणा गर्थे सपनालाई । उनीहरुले भन्थे, ‘छ्या, यस्तो काम पनि गर्ने हो ?’ सिमित व्यक्तिले सपनालाई ‘साहसी युवती’ भन्दै तारिफ गर्थे । तर, सपनालाई न तारिफको जरुरत थियो, न त कसैको घृणाबाट विलचित नै थिइन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबिच पशुपति आर्यघाटमा वेवारिसे शव जलाइरहेकी हुन्थिन् । जलिरहेका शवको धुवाँसँगै उनी कर्ममा हराउँथिन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सन् २०२० का प्रेरणादायी र प्रभावशाली १०० महिलाका रूपमा छनोट भएपछि सपनाको पहिलो भनाइ थियो, ‘के म त्यही सपना हुँ ?’ अर्थात् सुरुमा पत्यारै लागेन । तर, जब म्यासेस र मोबाइलमा बधाईका घण्टी बज्न थाल्यो, तबमात्र उनी सपनाबाट व्यूझिन् । र, एउटा कुनामा लुकेर आँसु खसाइन् । त्यो आँसु खुसीको नभएर आफ्नो विगत र वर्तमानको थियो उनको । ‘त्यो क्षण मलाई सपनाजस्तै लाग्यो’ एक अन्तर्वातामा भनेकी छन्, ‘नेपालीले नबुझेपनि मेरो काम विश्व (बीबीसी)ले बुझेको रै’छ । भोलीका दिन पनि मेरो कामको यसरी नै सम्मान हुन्छ ?’

तर, सपनाको परिचय बदलिएको छ । घृणा गर्नेहरु तारिफ गर्न थालेका छन् । ‘वाह, नारी हुन सपनाजस्तो, जसले आफ्नो गाउँमात्र नभएर देश नै चिनाइन्’ हिजो सपनाको कामलाई अवमूल्यन गर्नेहरु अहिले भन्न थालेछन्, ‘सेवा गरेपछि मेवा पाइन्छ, सपनाको साकार भयो सपना ।’ तर, सपनाको विश्वमा चिनिने न सपना थियो, न त उद्देश्य नै ।

वेवारिसे शव जलाउनु विवशताले रोजेकी हुन् । कलिलो उमेरमै विवाह गरेपछि सडकसम्म पुगेकी सपनाले आफ्नो मन भुलाउनमात्र नभएर बाँच्नका लागि समेत कठोर निर्णय गरिन् । विरानो हुँदा बाससमेत नपाइने यो सहरमा जागिरको कुरै छाडौँ । न जागिर, न बास । सडकमा रात बिताउँदा बिताउँदै सामाजिक अभियन्ता विनयजंग बस्नेतको सम्पर्कमा पुगेकी सपना अन्ततः ‘घाटे’ भइन् । ‘घाटे’ हुनुको अन्तरपीडा सपनालाई मात्र थाहा छ । तर, अहिले नेपाली समाजले मात्र नभएर विश्वले एकजना ‘घाटे’ युवतीको कथा पढ्न र सुन्न पाइरहेका छन् । भनौँ, ती डलर खेतीको पछाडि दौडिरहेका एनजिओ, आइएजिओअरु सपनाका सपनाहरु बेच्न जुर्रमुराउन थालेका छन् । जो, हिजोका दिनसम्म सपनालाई सपनामा पनि देखेका थिएनन् ।

०००

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले सन् २०२० का प्रेरणादायी र प्रभावशाली १०० महिलाका रूपमा छनोट भएपछि सपनाको पहिलो भनाइ थियो, ‘के म त्यही सपना हुँ ?’ अर्थात् सुरुमा पत्यारै लागेन । तर, जब म्यासेस र मोबाइलमा बधाईका घण्टी बज्न थाल्यो, तबमात्र उनी सपनाबाट व्यूझिन् । र, एउटा कुनामा लुकेर आँसु खसाइन् । त्यो आँसु खुसीको नभएर आफ्नो विगत र वर्तमानको थियो उनको । ‘त्यो क्षण मलाई सपनाजस्तै लाग्यो’ एक अन्तर्वातामा भनेकी छन्, ‘नेपालीले नबुझेपनि मेरो काम विश्व (बीबीसी)ले बुझेको रै’छ । भोलीका दिन पनि मेरो कामको यसरी नै सम्मान हुन्छ ?’

०००

अघिलो सोमबार अर्थात एक साताअघि बीबीसीले ‘बीबीसी १०० वुमन २०२०’ घोषणा गरेको थियो । विभिन्न विधामा आवद्ध संसारका प्रेरक र प्रभावशाली १०० महिलाको सुचिमा सपना रोका मगरको पनि नाम र तस्बिर थियो । जुन सूचिमा फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मारिन, न्यु अवतार एन्ड मार्भल फिल्म स्टार माइकल योह, कोरोना भाइरसविरुद्धको खोप उत्पादन गरिरहेको अक्सफोर्ड रिसर्च सेन्टरकी सारा गिल्बर्टलगायत रहेका छन् ।

बीबीसीले सूचि सार्वजनिक गरेको एक घण्टा नवित्दै सपना मिडियामा छाइन् । अनलाइन, रेडियो र टेलिभिजन च्यानलमा सपनाको नाम छाउन थाल्यो । तर, त्यतिञ्जेलसम्म उनलाई आफू सेलिब्रेटी भइसकेको थाहा थिएन । बीबीसीले १०० प्रेरक र प्रभावकारी महिनाको सूची सार्वजनिक गरेको भोलिपल्ट अर्थात मंगलबार सपनाले भनेकी थिइन्, ‘समाचारहरु हेरेर आजमात्रै फिल गर्दैछु, त्यो सपना मै हुँ ।’

बीबीसीले हरेक वर्ष विश्वभरका प्रेरक र प्रभावशाली १०० जना महिलाको सूची सार्वजनिक गर्दै आएको छ । यसैक्रममा यस वर्ष अर्थात सन् २०२० मा नेपालकी युवती सपना रोका मगर परेकी हुन् । गत वर्ष विश्वका प्रेरक र प्रभावशाली महिलाको सूचीमा नेपालकी बोनिता शर्मा छनोट भएकी थिइन् । ‘द सोसल चेञ्जमेकर्स एण्ड इन्नोभेटर्स’ नामक सामाजिक संस्थाकी संस्थापक बोनिताले आमा र बालबालिकाको पोषणको क्षेत्रमा काम गर्दै आएकी छन् ।

सपना यस कारण प्रेरक महिला बनिन्, जो अन्तर्राष्ट्रिय मिडियाले ‘विश्वमै पहिलो शब दहन गर्ने युवती’को संज्ञा दिएका छन् । सम्भवतः त्यो सत्य हुन सक्छ । तर, बीबीसीले सपनालाई त्यतिकै विश्वका प्रभावकारी १०० महिलाको सुचिमा राखेको भने होइन । सपना एक प्रेरक महिला हुन् । नेपालजस्तो हिन्दुधर्मालम्बीको बहुल्यता भएको मुलुकमा सपना एक उदाहरण हुन् । नेपालमा महिलाले शव छुनसमेत हुन्न भन्ने एक किसिमको संकुचित सोच विद्यमान छ । यस्तो समाजमा सपना प्रेरकमात्र नभएर आँटली हुन् । साथै, सपनाले कामबाट आधुनिक समाजको सन्देश दिँदै समाजलाई चुनौती दिएकी छन् ।

०००

को हुन् सपना ?

म्याग्दीकी १८ वर्षीया सपना रोका मगर मृत शरीरलाई दागबत्ती दिन्छिन् । बेवारिसे अवस्थामा भेटिएका शवहरुलाई दागबत्ती दिएर अन्तिम संस्कार गर्नु उनको काम हो । परिचय नभएका बेवारिसे शवको व्यवस्थापन गर्न पाउँदा सन्तुष्टि हुने उनले हालसम्म झण्डै ५० शवको व्यवस्थापन गरिसकेकी छन् । परिस्थिति अनुकूल हुन्थ्यो भने उनी यतिबेला आफ्नै संसारमा रमाइरहेकी हुन्थिन् ।

मध्यम वर्ग, सपनाको घरपरिवार खेती किसानी गर्छन् । सपना घरकी कान्छी छोरी हुन् । तर, उनका सपना र चाहनाहरु भने अधुरा रहन्थे । पढाइमा अब्बल उनी २०७३ सालमा म्याग्दीकै महेन्द्ररत्न उच्च माध्यामिक विद्यालयबाट एसईई उर्तिण भइन् । तर, भनिन्छ, जीवन एकनास हुँदैन । सपनाका लागि त्यस्तै भयो । आफ्ना अनगिन्ति उद्देश्य र घरपरिवारको सपनाको भारी बोकेर गाउँबाट बेनी बजार आएपछि कक्षा ११ मा भर्ना भइन् । सपनाको ‘सपनाघर’ त्यहीबाट भत्किन सुरु भयो ।

जो–कोहीसँग एकदमै छिटो घुलमिल हुन सक्ने उनी साथीहरुसँग दुःखसुख पोख्थिन् । तीनै साथीको संगतले बाटो बिराएकी उनी सामाजिक सञ्जालमार्फत एक युवकको प्रेमजालमा परेर सडकपेटीसम्मम पुगिन् । बीबीसीले आफ्नो नाम घोषणा गर्दा तिनै स्मरण गर्दै आँसु खसालेकी थिइन् । सडकको जीवन बिताइरहँदा कसैले एकवचन बोलिदिए हुन्थ्योजस्तो लाग्थ्यो उनलाई । उनी नितान्त एक्लो थिइन् । पटक–पटक आत्महत्याको प्रयाससमेत गरिन् । तैपनि दुःखसँग हार नखाएकी उनी विश्वास जुटाएर गाउँ फर्किन् । त्यसपछि बाबुआमासँग सल्लाहर गरेर पुनः विदेश जाने सपना बोकेर काठमाडौं आइन् । त्यसपछि उनको भेट विनयजंग बस्नेतसँग भएको हो । सपनाले विनयलाई बुवा मान्छिन् ।

विनय बेवारिसे शवको दाहसंस्कार गर्छन् । हालसम्म २७२ वटा वेवारिसे शवको दाहसंस्कार गरिसकेका विनय सपनाको प्रेरक व्यक्ति हुन् । पहिलोपटक शवको दाहसंस्कार गर्दा सपना १७ वर्षकीमात्र थिइन् । भर्खरकी युवती शव दहन गरिरहेको देख्दा मान्छेहरुलाई लाग्थ्यो, ‘विचरी, आफन्त नभएकाले आफै दाहसंस्कार गर्दैरहिछिन् ।’ तर, सपना कसैको वास्ता नगरि आफ्नै काममा व्यस्त हुन्थिन् ।

सामान्य अवस्थामा भन्दा कोरोना संक्रमणको बेला आर्यघाटमा कम शव आउँथ्यो । जतिखेर सपना दाहसंस्कार गरिरहेकी हुन्थिन्, त्यो समय पुग्नेहरुले उनको भिडियो र तस्बिर खिचेर सामाजिक सञ्जालमा अपलोड गर्थे । पहिलोपटक शव जनाइरहेको सपनाको तस्बिर र भिडियो फेसबुकबाटै आउट भएको थियो । त्यसपछि यु–ट्युबरसमेत उनको पछि लागे । यु–ट्युबरले चर्चामा ल्याएपछि राष्ट्रिय मिडियामा समेत उनी समाचार बन्न थालिन् । त्यही आधारमा बीबीसीले सपनालाई संसारका १०० प्रेरक महिलाको सुचिमा राखेको हो । सपनाले पहिलो अन्र्तवार्ता बीबीसीलाई दिएकी थिइन् । बीबीसीसँग उनले भनेकी छन्, ‘यसबाट मैले थप प्रोत्साहन पाएकी छु अनि यो सामान्य नेपाली महिलाको लागि प्रेरणा हो, हामी सबैको लागि ठूलो सम्मान हो ।’

प्रतिक्रिया दिनुहोस्