
काठमाडौं । प्रतिनिधि सभा बैठक कक्षमा सभामुख र सांसदहरुबीचको दुरी बढाइएको छ । आइतबार विपक्षी सांसदहरु सभामुखको आसनसम्मै पुगेर अवरोध गरेपछि संसद सचिवालयले सभामुख डोलप्रसाद अर्यालको आसन र फ्लोरबीचको दुरी बढाएको हो ।
आइतबार प्रतिनिधि सभा नियमावली पारित गर्ने क्रममा विपक्षीले प्रश्न उठाएपछि तनाव भएको थियो । सभामुख डिपी अर्यालले पारितको प्रक्रियामा अघि बढिसकेको हुनाले विपक्षीले माग गरेजस्तो संसदीय समितिमा पठाउन नसकिने अडान लिएका थिए । विपक्षी दलहरुले भने थप छलफल हुनुपर्ने माग गरेर वेल घेराउ र नाराबाजी गरेका थिए ।
यसक्रममा भएको घम्साघम्सी र असहज वातावरणका कारण मर्यादापालकको घेरामा बसेर सभामुखले सदन चलाएका थिए । त्यसपछि आज फ्लोरको अघिल्लो लहरका ‘दुई रो’ हटाइएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।














