काठमाडौं । भारत भ्रमणमा रहेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले आजबाट राजनीतिक भेटघाट सुरु गरेका छन् । सत्तारुढ भाजपाको निमन्त्रणामा दिल्ली गएका लामिछने भाजपा पार्टी कार्यालयमा भव्य स्वागत गरिएको छ ।

रवि भाजपा कार्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासहित उनलाई भाजपा नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए । उनले भाजपाका अध्यक्ष नीतिन नविनसँग भेटेका छन् । भेटका क्रममा नेताहरूले लामिछानेलाई भाजपाको कार्यालयको संरचनाबारे जानकारी गराएका थिए ।
भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल भएको जनाइएको छ ।
लामिछाने पाँच दिने भ्रमणका लागि सोमबार भारत गएका हुन् । उनले नेपाली समुदाय र समर्थकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । भारत बसाइका क्रममा उनले अयोध्या भ्रमण समेत गर्नेछन् ।














