काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को मुख्यालय पुगेका छन् । नयाँ दिल्लीस्थित भाजपा मुख्यालय पूगेका लामिछानेले भाजपाका नवनियुक्त राष्ट्रिय अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका हुन् ।

भाजपाले सञ्चालन गरिरहेको ‘भाजपालाई जान्नुहोस्’ अभियानअन्तर्गत दुई नेताबीच भेटवार्ता भएको हो । भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबीच पार्टीगत सम्बन्ध स्थापित गर्नुका साथै दुई देशबीचको सीमापार राजनीतिक समझदारीलाई थप मजबुत बनाउनु रहेको छ ।
भेटका क्रममा दुवै नेताले दलीय सङ्गठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचका विषयमा विस्तृत छलफल गरेका जनाइएको छ । भाजपाले नेपाली प्रतिनिधिमण्डललाई मुख्यालयमा न्यानो स्वागत गर्दै यो भ्रमणबाट दुई पार्टीबीच रचनात्मक संवाद स्थापित हुने अपेक्षा गरेको छ ।
‘भाजपालाई जान्नुहोस्’ अभियान विदेशी कूटनीतिक समुदायलाई भारतीय जनता पार्टीको ऐतिहासिक यात्रा, मुख्य विचारधारा, सङ्गठनात्मक संरचना, शासकीय स्वरूप र हालका राजनीतिक गतिविधिबारे जानकारी दिने उद्देश्यले तयार पारिएको कार्यक्रम हो ।
लामिछाने पाँच दिने भ्रमणका लागि सोमबार भारत गएका हुन् । उनले भारतमा रहँदा नेपाली समुदाय र समर्थकहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । भारत बसाइका क्रममा उनले अयोध्या भ्रमण समेत गर्नेछन् ।














