काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले दरबार हत्याकाण्डमा दिवङ्गत राजपरिवारले अझै न्याय नपाएको बताउँदै निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

पूर्वराजा वीरेन्द्र शाह तथा दरबार हत्याकाण्डमा दिवङ्गत सम्पूर्ण राजपरिवारप्रति श्रद्धाञ्जली अर्पण गर्दै शाहीले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी न्याय खोजिरहेका छौँ । राजपरिवारले न्याय नपाएको देशमा के गरिब, दुःखी र निमुखा जनताले न्याय पाउँथे र ?” उनले भनेका छन्, “श्री ५ महाराजाधिराज वीरेन्द्र वीरविक्रम शाहदेव तथा दरबार हत्याकाण्डमा दिवङ्गत सम्पूर्ण राजपरिवारप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।”
शाहीले दरबार हत्याकाण्डको समयमा गृहमन्त्री रहेका व्यक्तिले अहिले राष्ट्रपतिको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनको बयान लिनुपर्ने बताएका छन् । “त्यस समयको परिस्थितिबारे उनीसँग महत्त्वपूर्ण जानकारी, अनुभव वा दृष्टिकोण हुन सक्छ,” भन्दै शाहीले सम्बन्धित निकायलाई उनको बयान लिन र आवश्यक जानकारी माग्ने तथा छानबिन प्रक्रियामा सहयोग लिन अनुरोध गरेका छन् ।
दरबार हत्याकाण्ड कसले र किन गर्यो भन्ने प्रश्न अझै धेरै नेपाली जनताको मनमा जीवित रहेको उल्लेख गर्दै सांसद शाहीले घटनाको निष्पक्ष, स्वतन्त्र, पारदर्शी र विश्वसनीय छानबिन गर्नुपर्ने माग गरेका छन् ।














