
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा प्रधानमन्त्री बालेन शाहको हाजिरी खोजेका छन् ।
प्रतिनिधिसभा नियमावलीको नियम ४ मा सभाको बैठकमा आसन ग्रहण गर्नुअघि प्रत्येक सदस्यले बैठक कक्ष बाहिर रहेको उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपस्थिति उपकरणमा उपस्थिति जनाउनु पर्ने व्यवस्था छ ।
बैठकमा सदस्यको उपस्थितिसम्बन्धी जानकारी सचिवालयले विद्युतीय माध्यमबाट सार्वजनिक गर्न सक्नेछ । नियमावलीको यही नियम स्मरण गर्दै साम्पाङले प्रधानमन्त्री बालेनको हाजिरी खोजेका हुन् ।
‘प्रधानमन्त्री ज्यू यहाँ आउँदाखेरि आजिर गर्नुभएको छ कि छैन ?’ उनले भने, ‘यदि उहाँले हाजिर गर्नुभएको छैन भने उहाँ यो प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ ।’
प्रतिनिधिसभा सदस्य नरहेको अवस्थामा प्रधनमन्त्री पद स्वतः रद्द हुने उनको आग्रह छ । साथै, उनले प्रधानमन्त्रीले नेपालले भारतको जमिन कहाँ कहाँ मिचेको छ भनेर जानकारी दिनुपर्ने र गलत भए माफी माग गर्नुपर्ने बताए ।














