Logo
Logo

इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, इरानसँग वार्ता जारी रहेको ट्रम्पको दाबी


315
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हिजबुल्लाहबीच युद्धविरामका लागि सहमति भएको दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत ट्रम्पले इरानसँगको वार्ता पनि तिब्र गतिमा अगाडि बढिरहेको बताए ।

लेबनानमा इजरायली सैन्य कारबाहीको विरोध गर्दै तेहरानले मध्यस्थकर्ताहरूमार्फत वासिङ्टनसँग भइरहेको सन्देश आदानप्रदान प्रक्रिया स्थगित गरेको बताएको केही घण्टापछि ट्रम्पको यो टिप्पणी सार्वजनिक भएको हो । ट्रम्पले भनेका छन्, ‘इरानसँगको वार्ता तीव्र गतिमा जारी छ ।’

उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग फोन वार्ता भएको र हिजबुल्लाहका प्रतिनिधिहरूले पनि सन्देश पठाएको उल्लेख गर्दै दुवै पक्ष शत्रुतापूर्ण सैन्य गतिविधि रोक्न सहमत भएको दाबी गरे ।

इजरायली प्रधानमन्त्री नेतान्याहुसँगको संवाद अत्यन्तै फलदायी रहेको उल्लेख गर्दै ट्रम्पले इजरायलले लेबनानको राजधानी बेरुतमा सेना नपठाउने समेत स्पष्ट पारे । यसअघि आईतवार इजरायलले दक्षिण लेबनानको रणनीतिक महत्त्वको ब्युफोर्ट रिज र त्यसको टाकुरामा रहेको ऐतिहासिक किल्ला कब्जा गरेको दाबी गरेको थियो । यो क्षेत्र युद्धविराम सम्झौतापछि इजरायलले कायम राखेको सुरक्षा क्षेत्र भन्दा बाहिर पर्दछ ।

सञ्चारमाध्यमहरूका अनुसार २० वर्षभन्दा बढीको अवधिमा लेबनानमा इजरायलको यो सबैभन्दा गहिरो सैन्य प्रवेश हो । इजरायलको यस कदमको अरब राष्ट्रहरूका साथै फ्रान्स, जर्मनी र संयुक्त अधिराज्य (यूके) ले निन्दा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्