
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बालेन शाहले सदनको रोष्ट्रमबाट देशद्रोही कुरा गरेको बताएका छन् ।
२१ फागुनको चुनावपछि पहिलोपटक आज सार्वजनिक कार्यक्रममा देखिएको ओलीले प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट सम्पूर्ण रूपमा असत्य, झूट र राष्ट्रघाती बचन बोलेको दाबी गरे । नेपालले भारतको एक इन्च पनि जमिन नमिचेको उनले जिकिर गरे ।
उनले भने, ‘सम्पूर्ण रूपमा असत्य, झूट र राष्ट्रघाती बचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुहुँदैनथ्यो। नेपालको विपक्षमा बोल्ने काम भयो? त्यस दिन सदनमा गएर कसको हितमा बोलियो ? नेपाली जनतालाई यो भन्दा बढी हेप्ने अरू कुनै ठाउँ हुँदैन ।’
प्रधानमन्त्रीको देशद्रोही कुरामा कतिपयले समर्थन गरेको देख्दा अचम्म लागेको उनले बताए । सीमाबारे दुई देशको कुरामा अर्को देशलाई तान्ने कुरा अकूटनीतिक भएको ओलीले टिप्पणी गरे ।
उनले भने, ‘हाम्रा छिमेकीहरूसँगको छलफलमा दुई पक्षीय हिसाबले समाधान गर्छौँ । तेस्रो पक्ष सहभागी गराउँदैनौँ। प्रधानमन्त्रीले भने यो नेपालको नीति हो भनेर, नेपाल तपाईँको घरको सम्पत्ति होइन । तपाई जन्मिनुभन्दा धेरै अगाडिको देश हो ।’














