Logo
Logo

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रास्वपा र सभामुखको मौनताले शंका उत्पन्न गरायाे : सांसद देवकोटा


0
Shares

काठमाडौं । नेकपा एमालेकी सांसद सम्झना देवकोटाले प्रधानमन्त्री बालेन शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिमा रास्वपा र सभामुखको मौनताले शंका उत्पन्न गराएको बताएकी छन् ।

बुधवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको राष्ट्रहित विपरीत र गैरजिम्मेवार अभिव्यक्तिमा पनि सभामुख डोलप्रसाद अर्यालले कुनै रुलिङ नगर्नु र रास्वपा मौन बस्नुले सबै पक्षलाई सशंकित बनाएको बताएकी हुन् ।

उनले हालसम्म भारतका कुनैपनि आधिकारिक निकायबाट नेपालले सीमा मिचेको भन्ने जानकारी नेपाललाई नदिएको अवस्थामा प्रधानमन्त्रीले अचानक त्यस्तो आशयको जवाफ दिनु गम्भीर विषय भएको बताइन । उनले नेपाल–भारत बीचको सीमा विवाद सुगौली सन्धीदेखि नै रहँदै आएपनि भारतले हालसम्म नेपालले भूमी मिचेको दाबी नगरेको बताइन । वर्तमान सरकारले गठन भएदेखि नै विवादास्पद र अमान्य गतिविधिहरू गरिरहेको उनको आरोप छ ।

पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारी, सुकुम्बासी तथा भूमिहीनको उचित व्यवस्थापनबिना उठीबास लगाउने कार्य तथा सीमासम्बन्धी अभिव्यक्तिले सरकारको सही ढंगले नचलेको प्रष्ट हुने उनको भनाई छ ।

सांसद देवकोटाले प्रधानमन्त्रीको विगतको अभिव्यक्ति स्मरण गराउँदै मेयर हुँदा ग्रेटर नेपालको नक्सा जारी गर्नेकुरा गर्ने व्यक्ति आज नेपाललाई ‘स्मल नेपाल’ बनाउने अभिव्यक्ति दिन किन पुगे ? भनेर प्रश्न उठाइन् । उनले प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वापका सभापति रवि लामिछाने भारत भ्रमणमा जानु पनि शंकास्पद रहेको उल्लेख गरिन् । यसमा कुनै प्रकारको तालमेल रहेको हो कि भन्ने प्रश्न उठेको उनको भनाई छ ।

सांसद देवकोटाले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रियता र राष्ट्रहितविरुद्ध भएको दाबी गर्दै यस्तो व्यक्तिले प्रधानमन्त्री पदमा बसिरहनु उपयुक्त नहुने बताए । उनले पदको दुरुपयोग नगरी तत्काल राजीनामा दिएर आम नेपाली जनतासँग माफी माग्न प्रधानमन्त्रीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्