Logo
Logo

ओलीलाई योगेशको व्यंग्य


504
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले भ्रममा परेका एक यात्रुको बुझाइ समेटिएको छोटो कथा सम्झिएर स्टाटस लेखेका छन् ।

उनका स्टाटस अनुसार, एक बुढो यात्रुले बसको डण्डी समातेर गन्तव्यसम्म बसलाई सुरक्षित पुर्‍याएको भ्रम अरु यात्रुलाई सुनाएका छन् ।

उपमहासचिव भट्टराईले यो कथा पार्टीका एक वरिष्ठ नेताले सुनाएको भनेका छन् । ‘नेकपा एमालेको सातौं राष्ट्रिय महाधिवेशनको (जनकपुर) बन्दसत्रमा पार्टीका एक वरिष्ठ नेताले भाषणका क्रममा यस्तो कथा सुनाउनुभएको थियो,’ भट्टराईले लेखेका छन् ।

संक्षिप्त कथापछि भट्टराईले लेखेका छन्, ‘आज मलाई यो कथाको खुब सम्झना भयो ।’ ती नेता को थिए ? भट्टराईले स्टाटसमा लेखेका छैनन् ।

तर स्टाटसमा आएका प्रतिक्रियाहरूबाट अनुमान लगाउन सकिन्छ– त्यस्तो कथा सुनाउने नेता केपी शर्मा ओली नै थिए ।

चुनावपछि बुधबार ओलीले चर्को अभिव्यक्ति दिनु र भट्टराईले सातौं महाधिवेशन सन्दर्भ सम्झिनुले पनि धेरैलाई यस्तो अनुमान लगाउन बल पुगेको छ । हरेकजसो प्रतिक्रिया पनि ओलीसँगै तुलना गरेर लेखिएको छ ।

एमालेका पुराना एक नेता पनि त्यस्तो कथा सुनाउने पात्र ओली नै भएको बताउँछन् । ‘२०५९ सालको सातौं महाधिवेशनमा माधवकुमार नेपाल र अमृतकुमार बोहराप्रति केपी ओलीको चर्को आक्रोश थियो । यो कथा पनि माधव र अमृतलाई व्यंग्य गर्न सुनाइएको थियो,’ उनी भन्छन् ।

यद्यपि, योगेश भट्टराईले भने पूरा विवरण खुलाएका छैनन् । तर ओलीले एमालेको नेतृत्व नछोड्ने र विधि बाहिर जानेलाई कारबाही गर्ने चेतावनीयुक्त भाषण गरेपछि भट्टराईले असन्तुष्टि जनाउने यो स्टाटस लेखेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्