
सधैँझैँ कालो चस्मा कालै भेष्ट, कालै कोटमा देखापर्ने प्रधानमन्त्री बालेन्द्र साहले १७ जेठको प्रतिनिधिसभा बैठकमा अचानक मुख फोरे । बोल्दै नबोल्ने ढिट कसेका उनी बोलेरै विवादमा आए, त्यो पनि देशको सीमासम्बन्धी संवेदनशील विषयमा । प्रधानमन्त्री भएपछि संसदको रोष्टममा उभिएर पहिलो पटक भारतसँगको लिपुलेक, लिम्पियाधुरा र कालापानीको सीमा समस्याबारे उल्लेख गर्दै उनले भने, “तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला मैँले पनि अस्ति प्रधानमन्त्री भएपछि मात्र थाहा पाएँ, भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । यो कुरा अस्ति भर्खर थाहापायौं । त्यही भएर दुईटै देशले अध्ययन गरेर उहाँहरूले मिच्नुभएको छ, हामीले मिचेका छौँ के छ ? त्यसलाई बसेर साथीका रूपमा समाधान गर्ने सोच राखेका छौँ ।’
प्रधानमन्त्री साहको बोलीमा झन्डै दुई तिहाइ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले टेबल ठटाइरहँदा सीमाका विषयमा बोल्दा भने अचानकको शान्ति छायो । उनले प्रश्नोत्तरको सन्दर्भमा फेरि सीमाबारे अर्को विवादास्पद अभिव्यक्ति दिए । जसमा नेपाल र भारतबीचको सीमाको विषयमा बेलायतलाई जोडे । उनले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच व्यापार मार्ग सञ्चालन केबल नेपालसहित छिमेकीको विषयमात्र नभई बेलायतलाई समेत जोडिने तर्क गरे ।
उनले भने, ‘‘औपचारिक रूपमा डिप्लोमेटिक नोट भारत सरकारलाई पठाइसकेको र जवाफ आएको छ । दुवै देशको सरकारले इतिहासविद् र सर्वेयर भूमिसम्बन्धि जानकारलाई भएका व्यक्तिहरू राखेर टेबल टकमार्फत् समाधान गर्ने कुरा भएको छ । भारत र चीनलाई मात्र नभई बेलायत सरकारसँग पनि कुरा गरेका छौँ । ब्रिटिस इन्डिया छाड्दै गर्दा भएको समस्या हाम्रोमा भइरहेको हुँदा खेरी इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउन चाहन्छु ।’’
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमणमा जानु ठिक एक दिन अघि सीमा जस्तो संवेदनशील मुद्दामा प्रधानमन्त्री साहको विवादास्पद अभिव्यक्ति आउनु संयोगमात्र होइन, उनले आफू प्रधानमन्त्री भएपछि मात्र नेपालले पनि भारतको भूमि मिचेको थाहा पाएको भन्नुले गम्भीर प्रश्न खडा गरिदिएको छ । त्यसमाथि भारतलाई उपनिवेश बनाएर स्वतन्त्रतापछि भारत छाडेको बेलायतलाई समेत नेपाल र भारतको सीमा मामलामा तान्न खोज्नु रहस्यको विषय हो ।
भारतको विरोध गर्नुलाई सबैभन्दा ठूलो राष्ट्रवाद मान्ने भाष्यको जग बसालिएको देशमा बालेनको लोकप्रियता पनि त्यस्तै प्रकारले भएको थियो । भारतले संसद् भवनमा दक्षिण एसियाली मुलुकहरू समावेश भएको ‘अखण्ड भारत’को नक्सा राखेपछि बालेनले त्यसको जवाफमा ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षको भित्तामा झुन्ड्याएका थिए । त्यतिबेला उनको कदमले निकै चर्चा बटुल्यो । कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको चुच्चे नक्सा ल्याउने जस लिएका केपी शर्मा ओली पनि बालेनको कदमबाट प्रसन्न थिए ।
ओली चीन भ्रमणमा जाँदा लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन हुने भनिएको मार्गबारे कुरा गर्न ट्वीट गरेका थिए बालेनले । यही मुद्दा उठाउँदै उनी तय भइसकेको चीन भ्रमण रद्द गर्न पुगे । यतिसम्मकी दरबारमार्ग र ठमेलमा चिनियाँ नयाँ वर्ष मनाउने अनुमति पनि दिएनन् र पछि कलंकीतर्फ गएर चिनियाँहरूले नयाँ वर्षको कार्यक्रम मनाइएको थियो ।
बालेनले सीमाको विषय फेरि उठाएपछि भारतको विदेश मन्त्रालयले लिपुलेकमा आफ्नो पुरानै दाबी दोहोराइसकेको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सन् १९५४ यता कैलाश मानसरोवर यात्राको मार्ग चल्दै आएको तर्क गर्दै नेपालको लिपुलेक लिम्पियाधुराको भूभागको दाबी ऐतिहासिक दस्ताबेज र तथ्यहरूबाट प्रमाणित नहुने दाबी गरेका छन् ।
टाइम्स अफ इन्डियामा प्रकाशित उनको प्रतिक्रियामा नेपालको पछिल्लो नक्सालाई कृत्रिम र अस्वीकार्य भनेका छन् । प्राध्यापक एस डी मुनीले दुवैतर्फबाट सीमा मिचिएको यथार्थलाई स्विकार्नुका कारण बालेन बधाई पाउन योग्य हुन् भन्दै सीमाको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न खोज्नुचाहिँ प्रत्युत्पादक हुनसक्ने भनेका छन् ।
हिन्दुस्तान समाचारले नेपालले लिपुलेक लिम्पियाधुरा सीमा विवादमा बेलायतसँग कुराकानी गरेको उल्लेख गर्दै नेपाल सरकारले यो विवादलाई ब्रिटिस शासनकाल र ब्रिटिस भारसँगको ऐतिहासिक मुद्दा मान्दै बेलायतको समेत जिम्मेवारी र सरोकार हुनुपर्ने अडान बनाएको भनेको छ ।
भारत सरकारले बालेनले संसद्मा बोलेको विषयबाट उत्साहभन्दा पनि आशंका देखाएको त्यहाँको मूलधारका मिडियाको विश्लेषणबाट बुझ्न सकिन्छ । लिपुलेक मामलामा चीनलाई जोड्ने देखि बेलायतसमेतलाई तान्ने विषयले भारत झन् सशंकित देखिएको छ ।
बालेनको बेलायत कार्ड
बालेन्द्र साह जति रहस्यमय छन् उनको कदम र बोली उत्तिकै रहस्यमय छ । सीमा जस्तो संवेदनशील मुद्दामा उनको अभिव्यक्ति झुक्किएर अथवा अज्ञानतामा भएको थिएन । यो त जानाजान थियो । उनले पार्टीभित्रका प्रतिद्वन्द्वी रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा अचानक संसद् पुगेर बोलेका थिए । जसमा भारतसँग सीमाबारे ‘टेबुल टक’ गर्ने विषय मात्र थिएन, यो मामलामा बेलायतलाई समेत सहभागी गराउने मुद्दा थियो ।
बालेनले तेस्रो पक्षलाई नेपाल भारत सीमा समस्याको मामलामा संलग्न गराउने मुद्दा अघि सारेर नयाँ कार्ड फालेका छन् । उनले आफ्नो अभिव्यक्तिमार्फत नेपालको भारतसँगको सीमा समस्यालाई अन्तर्राष्ट्रियकरण गरिदिएका छन् अहिले । लिपुलेक मामलामा चीनलाई तानेर राजनीतिक लाभ लिन खोज्नेहरूको कार्ड पुरानै भइसकेको छ । बालेनले बेलायतलाई तानेर नयाँ कार्ड खेल्न खोजेका छन् ।
सायद यही कारणले होला, प्रधानमन्त्रीका रूपमा बालेनसँग भारतीय अधिकारीले कुराकानी गर्ने प्रयासहरू गर्दा पनि उनले भेट्न चाहेनन् । नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले सामूहिक भेट मात्र पाए एक्लै भेट पाएनन् । भारतका विदेश सचिव विक्रम मिश्रीले नेपाल आउने इच्छा राखेका थिए, बालेनले विदेशी अधिकारीलाई भेट्न नमानिरहेकाले उनी पनि आएनन् । भारतका विदेश सचिव एस जयशंकर आउने चर्चा थियो त्यो त्यसै सेलायो ।
परराष्ट्रमन्त्री शिशिर खनालको तय भएको भारत भ्रमण समेत स्थगित भयो । १८ जेठबाट संसद्मा सबैभन्दा ठूलो तथा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतको सत्तारुढ भारतीय जनता पार्टीबाट निम्तो पाएर भ्रमण थालेका छन् । भारतले बालेन साहलाई प्रधानमन्त्री नबन्दै बधाई दिएर सम्बन्ध सुधार्न खोजेको थियो, तर बालेनले त्यो कुरालाई महत्त्व नदिएपछि सभापतिका हैसियतले लामिछानेको भारत भ्रमण भएको हो । यो घटनाले बालेनलाई झस्काएको देखिन्छ । यसकारण उनले लामिछानेको भ्रमणलाई प्रभावित पार्न पनि विवादास्पद अभिव्यक्ति दिएको कूटनीतिका विद्यार्थीहरूले बुझेका छन् ।
भूराजनीतिक जोखिम
बालेनको उदय सस्तो लोकप्रीयताको जगबाट भएको तीतो यथार्थ हो । घरेलु राजनीतिको बेथिति र विसङ्गतिको विरोध गरेर मात्र उनी उदाएनन्, बदलिँदो विश्व व्यवस्थामा शक्तिराष्ट्रहरुको विश्व, क्षेत्रीय हुँदै नेपाल मामलासम्मको चर्को प्रतिस्पर्धामा सत्ता ढल्ने र बन्ने चक्रमा उनले मौका पाए । बालेनको बोलीभन्दा व्यवहारलाई केलाउँदा उनले छिमेकलाई अप्ठ्यारो पार्ने रणनीतिहरू अख्तियार गर्दै आएका छन् ।
उनको टिममा चीनका लागि चुनौती बनेका टीओबीका मुख्य पात्रहरू रहेका छन् । प्रधानमन्त्री बनेपछि भारतसँगको सीमामा उपभोग्य सामाग्री ओसारपसारमा कडाइ गरी सीमापारि सम्बन्धमा अवरोध खडा गरिदिएर भारतलाई चिढ्याउने काम गरे । अहिले सीमाको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने योजनासहित बेलायतलाई समेत संलग्न गराउन खोजेका छन् । विगतमा कतिपय प्रधानमन्त्रीले भारत, चीन र अमेरिका कार्ड खेल्थे । यसपाली बालेनले बेलायत कार्ड फालेका छन् । बालेनको कदम छिमेकलाई अप्ठ्यारो पार्ने र नेपाललाई अर्को भूराजनीतिक जोखिममा पार्न सक्ने खतरा देखिँदै छ ।
रविको अर्थपूर्ण भारत भ्रमण
प्रधानमन्त्री बालेन साहले भारतलाई चिढ्याएपछि उनको ठाउँमा रवि लामिछानेले निकै लामो कसरतपछि पहिलो पटक भारत भ्रमणको निम्तो पाएका छन् । अघिल्लोपटकको संसद्मा रहँदा उनी अनौपचारिक तरिकाले तीर्थयात्रीका रूपमा भारत पुगेका थिए । यसपटक भारतको सत्तारुढ भारतीय जनता पार्टीले नै निम्तो ग¥यो ।
भारतको सत्तापक्षले व्यक्तिभन्दा पार्टीगत तहमै सम्बन्ध बनाउने नीति लिँदै आएको छ । रास्वपासँग पनि भाजपाले पार्टीगत तहमै सम्बन्ध र संवाद स्थापित गरेको छ अहिले । रविले चाहेजस्तै भारतसँग विचौलियामार्फत् नभई सिधा सिधा संस्थागत रूपमै संवाद हुने अवस्था बनेको छ । तर, रविले भारत भ्रमण गरिरहँदा उनको दलबाट प्रधानमन्त्री बनेका बालेन साहको भारतलाई झस्काउने र आशंका बढाउने गतिविधिले कम चुनौती भने छैन ।
जेनजी विद्रोहपछि भएको अर्ली चुनावमा अस्वाभाविक जीत हासिल गरेको रास्वपासँग भाजपाले निकट सम्बन्ध स्थापित गरेको छ अहिले । भारत सरकारको निम्तोमा नभई भाजपाको निम्तोमा भ्रमणमा पुगेपनि सरकारका कुनैपनि उच्च अधिकारीभन्दा पहिला रवि लामिछानेको भ्रमण भएको छ ।
यतिसम्मकी परराष्ट्रमन्त्री शिशिर खनालले समेत रविको भ्रमणका कारण आफ्नो भारत भ्रमण स्थगित गर्नुप¥यो । यो घटनाले रास्वपाभित्र नयाँ तरंग आएको छ । लामिछानेको भ्रमणमा के के पाक्ला त्यसले रास्वपाको आन्तरिक राजनीतिमा निकट भविष्यमा उतारचढाव ल्याउन सक्छ । कूटनीतिक अपरिपक्वताका कारण चुक्दै गएका बालेनको विकल्पका रूपमा रवि बन्ने अवस्था निर्माणको हुँदै गएको संकेत हो यो ।














