काठमाडौं । विश्वकप फुटबल नि:शुल्क हेर्ने प्रलोभन देखाएर फैलाइएका शंकास्पद लिंकहरूमा क्लिक गर्दा ठूलो मात्रामा ठगी भएको खुलासा भएको छ ।

यस्ता लिंकमार्फत हालसम्म करिब १ करोड ६८ लाख ३८ हजार ६८८ रुपैयाँ बराबरको आर्थिक क्षति भएको उजुरी परेको नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोले जनाएको छ ।
साइबर ब्यूरोका अनुसार हालसम्म ७७ वटा उजुरी दर्ता भएका छन् । ब्यूरोका प्रवक्ता एसपी दिलीप गिरीले विश्वकप हेर्न पाइने भन्दै सामाजिक सञ्जाल र मेसेजिङ प्लेटफर्ममार्फत पठाइएका अनधिकृत लिंकहरू अत्यधिक जोखिमपूर्ण रहेको बताउँदै ती लिंकमा क्लिक नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
उनका अनुसार “निस्शुल्क विश्वकप हेर्ने” बहानामा प्रयोगकर्ताको व्यक्तिगत विवरण, बैंकिङ जानकारी तथा मोबाइल पहुँचसमेत चोरी हुने गरी ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ।
अनधिकृत स्ट्रिमिङ साइट र एपमाथि प्रतिबन्धको तयारी
यसैबीच, फिफा विश्वकप २०२६ को प्रसारण अधिकार उल्लंघन गर्दै लाइभ प्रसारण गर्ने अनधिकृत वेबसाइट तथा मोबाइल एपहरू बन्द गर्ने तयारी पनि अघि बढाइएको छ।
नेपालमा आधिकारिक प्रसारण अधिकार प्राप्त ‘एस प्रो मिडिया प्रालि’को अनुरोधपछि नेपाल दूरसञ्चार प्राधिकरणले त्यस्ता प्लेटफर्महरूलाई ब्लक गर्ने प्रक्रिया सुरु गरेको हो।
कम्पनीका अध्यक्ष सोम धितालले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत अनधिकृत रूपमा खेल प्रसारण गर्ने साइट र एपहरू बन्द गर्न माग गरेका थिए। सोही आधारमा मन्त्रालयले प्राधिकरणलाई आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको बताइएको छ।
प्राधिकरणका अधिकारीका अनुसार इन्टरनेट तथा मोबाइल सेवा प्रदायकहरूसँग समन्वय गरी प्रतिलिपि अधिकार उल्लंघन गर्ने तीन दर्जनभन्दा बढी वेबसाइट र मोबाइल एपहरू पहिचान गरेर क्रमशः निष्क्रिय बनाउने तयारी भइरहेको छ।
सरकारले यसैबीच सर्वसाधारणलाई अनधिकृत प्लेटफर्म प्रयोग नगर्न र केवल आधिकारिक माध्यममार्फत मात्र खेल हेर्न आग्रह गरेको छ।














