
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा अमरेश कुमार सिंहले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट कार्यन्वयन नहुने दाबी गरेका छन् ।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको सैद्धान्तिक छलफलका क्रमाम उनले बजेटलाई ठूलो फुकिएको बेलुनको संज्ञा दिए । उने फुकिएको बेलुन लामोसमयसम्म नटिक्ने उल्लेख गर्दै आगामी बजेट पनि कार्यान्वयन नहुन नसक्ने ठोकुवा गरे ।
सांसद सिंहले खक्षिण एसियामा कुनैपनि देशले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३२ देखि ३३ प्रतिशतको बजेट बनाउने नगरेको बताए । उनले बजेटमा केही सकरात्मक व्यवस्था भएपनि समग्र रूपमा आम नागरिकलाई राहत दिन नसकेको दाबी गरे । उनले संविधान विपरित शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाईएको बताए ।
शिक्षा र स्वास्थ्यलाई संविधानले मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै उनले यस्ता क्षेत्रमा कर लगाउनु संविधानको मर्मविपरीत भएको तर्क गरे । निजी विद्यालय र अस्पतालमाथि लगाइएको करको भार अन्ततः विद्यार्थी र सेवाग्राहीमाथि पर्ने उनको भनाइ छ । उनले मुलुकमा व्यापारिक वातावरण समेत कमजोर बन्दै गएको बताए ।
निजी क्षेत्र डर र त्रासको कारण ऋण लिन नसक्ने अवस्थामा पुगेको उनको भनाई छ । सांसद सिंहले डरले शासन चल्न सकेपनि विकास हुन नसक्ने बताए । उनले बजेटमा किसानलाई उचित मूल्य सुनिश्चित गर्ने व्यवस्था नदेखिएको भन्दै असन्तुष्टि पोखे ।
किसानले उत्पादन गरेको तरकारी न्यून मूल्यमा बेच्न बाध्य हुँदा उपभोक्ताले भने धेरै महँगो मूल्य तिर्नुपरेको उनको भनाई छ । उनले युवालाई रोजगारी सिर्जना गर्ने स्पष्ट कार्यक्रम पनि बजेटमा नदेखिएको आरोप लगाए ।














