
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश सभापतिमा चन्द्र राई विजयी भएका छन् । प्रतिस्पर्धीहरु सरिन तामाङ, चन्द्र कुमार गौली र खगेन्द्र कटुवाललाई हराउँदै मोरङका राई निर्वाचित भएका हुन् ।
७०२ मत खसेका मा राईले २८०, तामाङले १४१, गौलीले २७ र कटुवालले ४१ मत पाएका छन् । यसैबीच चुनावमा पराजय भएसँगै सरिनले सामाजिक सञ्जालमार्फत राजनीतिबाट अलग हुने घोषणा गरेकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, आजबाट राजनीतिक बिट मारे । मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’
सरीन प्रदेश कार्यवाहक सभापति तथा रास्वपाकी संस्थापक नेतृ हुन् । ७९ को चुनावमा सुनसरी क्षेत्र नम्बर–१ मा उठेकी उनी एमाले–जसपा नेपाल गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका अशोककुमार राईसँग ४५३ मतको अन्तरले पराजित भएकी थिइन् ।
गत २१ फागुनमा सम्पन्न चुनावमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित भइन् । तामाङ स्थापना कालबाटै रास्वपामा लागेकी हुन् । प्रदेशको उप सभापति भएका बेला राजेश तिम्सिना, मुकुल ढकालसहित कारबाहीमा परेपछि उनलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिइएको थियो ।
प्रदेशको निर्वाचनमा सभापतिका लागि गुटबन्दी गरिएको भन्दै उनले हिजो साँझ आक्रोश व्यक्त गरेकी थिइन् । तामाङले प्रतिनिधि सभाका सांसदहरूले उनका प्रतिस्पर्धीलाई मत मागेको भन्दै उनले यस्ता सांसदलाई कोशी कट्न नदिने चेतावनी समेत दिएकी थिइन् ।














