इजिङ । परराष्ट्रमन्त्री शिशिर खनालले पुराना र ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन प्रक्रिया अघि बढेको बताएका छन्।

चीन सरकारको औपचारिक भ्रमणका क्रममा आइतबार बेइजिङ पुगेका मन्त्री खनालले नेपाली दूतावासले आयोजना गरेको नेपाली डायस्पोरासँगको अन्तर्क्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले भ्रष्टाचार निर्मूलीकरणलाई प्रमुख प्राथमिकतामा राखेको प्रस्ट पारेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा सहभागी भएपछि सुशासनको चुनावी बाचाअनुरूप काम भइरहेको उनले दाबी गरे।
‘हामीले पुराना र ठूला भ्रष्टाचारका काण्डहरूको छानबिन हुनुपर्छ भनेर बाचा गरेका थियौँ। अहिले हाम्रो सरकार बनिसकेपछि एउटा कार्यदल बनेको छ, जसले २०६३ पछिका भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा छानबिनको प्रक्रिया अगाडि बढाएको छ,’ मन्त्री खनालले भने।
लामो समयदेखि शासन सत्ता सञ्चालन गर्नेहरूले देशलाई सही शासन नदिएको निष्कर्षसहित आफूहरू सरकारमा गएको बताउँदै उनले सार्वजनिक सेवा प्रवाहलाई झन्झटरहित बनाउन प्रविधिको प्रयोगमा जोड दिइएको जानकारी दिए।
परराष्ट्रमन्त्री खनालले विदेशमा रहेका नेपालीहरूका गुनासो सुन्न र समस्याको तत्काल समाधान गर्न परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ नामक एप सञ्चालनमा ल्याएको जानकारी गराए।
उनले भने, ‘कसैलाई विदेशमा समस्या पर्दा त्यो एपमार्फत दर्ता गरेमा दूतावासहरूसँग तुरुन्तै समन्वय गरी समाधानको प्रयास सुरु हुन्छ। हामी परिणाममुखी काममा उन्मुख छौँ र केही समयमै जनताले अनुभूत गर्ने गरी परिणाम दिनेछौँ।’














