काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम कर्णाली प्रदेश अधिवेशनमा विवाद सुरु भएको छ। महामन्त्री भूपदेव शाह र सहमहामन्त्री विपीन आचार्यले उद्घाटन गरेको अधिवेशनमा प्रतिनिधि छनोट त्रुटिपूर्ण रहेको भन्दै उजुरी परेको हो।

रास्वपा कर्णाली प्रदेशले प्रदेशभरिबाट ५३० जना प्रतिनिधि अधिवेशनमा सहभागी भएको जनाएको थियो। तर, तीमध्ये ३०० जना प्रतिनिधि नक्कली रहेको दाबी गर्दै अधिवेशनको निर्वाचन समितिमा उजुरी दर्ता भएको छ।
प्रदेश सभापतिका आकांक्षी नन्दकिशोर बस्नेत लगायतले निर्वाचन समितिमा उजुरी दिँदै नक्कली प्रतिनिधिहरूमाथि छानबिन हुनुपर्ने माग गरेका हुन्। दैलेखका प्रतिनिधि समेत रहेका बस्नेतले प्रदेश अधिवेशनका लागि छनोट भएर आएका प्रतिनिधिहरूको योग्यता लगायतका विषयमा दाबी–विरोधसहितको उजुरी दिइएको जानकारी दिए।
निर्वाचन समितिका संयोजक विपी दाहालले उजुरी परेपछि सूचना जारी गरेर कर्णाली प्रदेशका विभिन्न विभागबाट छनोट भएका प्रतिनिधिहरूको सत्यतथ्य पुष्टि गर्न निर्देशन दिएका छन्। उनले प्रतिनिधिहरूले पार्टी सदस्यता लिएको मिति तथा सम्बन्धित विभागमा नियुक्ति भएको प्रमाणसहितका कागजात माग गरिएको जानकारी दिए।
यसैबीच, उद्घाटन सत्र सकिएको तीन घण्टा बितिसक्दा पनि बन्दसत्र सुरु हुन नसकेको भन्दै सहभागी प्रतिनिधिहरूले असन्तुष्टि र गुनासो पोख्न थालेका छन्।














