काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले हालै भएको राजनीतिक तथा कूटनीतिक गतिविधिबारे सरकारको धारणा र नीतिमाथि प्रश्न उठाएका छन् ।

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र झन्डै दुईतिहाइ बहुमत प्राप्त सरकारका परराष्ट्रमन्त्रीको हालैको भारत भ्रमणलाई लिएर ‘अत्यन्त मिठा, सुमधुर कुरा र समझदारी भयो’ भन्ने किसिमको प्रचार गरिएको थियो । तर यदि साँच्चै त्यस्तो सकारात्मक समझदारी बनेको हो भने त्यसको प्रत्यक्ष प्रभाव देखिनुपर्ने भए पनि उल्टो अवस्था देखिएको उनको भनाइ छ ।
रावलले भ्रमणपछि नेपालबाट भारततर्फ निर्यात हुने प्रमुख चियामध्ये केही रोकिएको र त्यसका कारण इलामको सूर्योदय नगरपालिका तथा झापाका चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेको दाबी गरेका छन् ।
त्यसैगरी उनले सुस्तामा भारतीय सीमा सुरक्षा फौज प्रवेश गर्दा स्थानीय नेपाली जनता विरोधमा उत्रिन बाध्य भएको र दार्चुला क्षेत्रमा भारतीय हेलिकप्टरले बिना अनुमति नेपाली हवाई सीमामा उडान गरेको विषय पनि उठाएका छन् ।
उनले यस्ता घटनापछि सरकारको आधिकारिक धारणा के हो भन्ने प्रश्न गर्दै पारस्परिक हितमा आधारित ुसुमधुर सम्बन्धु को वास्तविक परिभाषा के हो भनेर स्पष्टीकरण माग गरेका छन् ।
रावलले सरकारलाई यस्ता गम्भीर विषयमा नेपाली जनतालाई स्पष्ट जवाफ दिनुपर्ने भन्दै ‘पुराना विषय बोक्दैनौँ’ भनेर पन्छिन नमिल्ने टिप्पणी पनि गरेका छन् ।














