Logo
Logo

प्रधानमन्त्रीलाई किसानको समस्या समाधान गर्न फुर्सद छैन : निश्कल राई


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले सरकारले चिया उद्योग र किसानका समस्या प्रति गम्भीर नभएको बताएका छन् । 

The current image has no alternative text. The file name is: niskal-rai-1.jpg

प्रतिनिधिसभाको बैठकमा बोल्दै राईले इलामसहित पूर्वी पहाडी जिल्लाका चिया उद्योग र किसानहरू गम्भीर सङ्कटमा परेको बताएका हुन् । उनले सरकारले किसानका लागि कुनै आवश्यक पहल नगरेको बताएका छन् । 

उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री चिया पसलमा गएर चिया पिउँदै गरेको तस्बिर देखिए पनि चिया उद्योग र किसानको समस्या समाधानमा ध्यान नदिएको टिप्पणी  गरेका हुन् । राईले भने, “यो विषय मैले सातौँ पटक सदनमा उठाएको छु । प्रधानमन्त्री मन्त्रीहरूसहित देश बनाउने काममा व्यस्त हुनुहुन्छ । सामाजिक सञ्जालमा हेर्दा उहाँ चिया पसलमा चिया पिउन समय निकाल्नुहुन्छ, तर वार्षिक तीन करोड बढी तयारी चिया निर्यात हुने र अर्थतन्त्रको मेरुदण्ड मानिने चिया उद्योग र किसानको समस्या समाधान गर्न भने फुर्सद पाउनुभएको देखिँदैन ।”

भारतीय चिया बोर्डले लागू गरेको नयाँ एसओपीका कारण नेपाली चिया निर्यातमा ठूलो असर परेको राईले बताए । गुणस्तर परीक्षण रिपोर्ट आउन दुई साताभन्दा बढी समय लाग्ने, रिपोर्ट नआउँदासम्म चिया बिक्री गर्न नपाइने र सामान्य समस्या देखिएमा समेत उत्पादित चिया नष्ट गर्नुपर्ने व्यवस्थाले उद्योगीहरू मारमा परेका उनको भनाइ रहेको छ । उद्योग बन्द हुँदा किसानहरूको हरियो चिया खेर गएको, श्रमिकहरूको रोजगारी गुमेको र उद्योगीहरू बैङ्कको ऋणको ब्याज तिर्न नसक्ने अवस्थामा पुगेको राईले बताए ।

प्रतिक्रिया दिनुहोस्